काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर निष्काशन गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले हस्ताक्षर गरेका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले मिति २०८०/०२/०८ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८०/०३/३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आइरहेको छ । बीमाको पहुँचबाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै तथा बीमाको सहज पहुँच दिलाई आर्थिक जोखिमहरू व्यवस्थापन गर्न र अप्रत्याशित घटनाहरूविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न सहायता पु¥याउँदै आएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफनो लक्षित वर्गको आवश्यकता र आकांक्षाहरूलाई पूरा गर्न विविध लघुबीमालेखहरूमार्फत पहुँचयोग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउँदै आएको छ । हाल कम्पनीले सातवटै प्रदेशमा गरी ३३ वटा कार्यालयमार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।