काठमाडौं । काठमाडौ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् ।
नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उनले पर्यटनस्थल नगरकोटलाई पुनः ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरिने प्रतिबद्धता समेत जनाएका थिए । नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रो भइसकेकोले यस क्षेत्रमा जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने उनले बताए । नगरकोटका ठूला होटलहरु क्लब हिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको हो ।
नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले बताए । नगरकोट अब ‘कम्पोरेटिङ मोडल’मा अगाडि बढिरहेको उनको भनाइ छ । शाक्यका अनुसार नगरकोटमा पुराना होटलदेखि नयाँसम्म उच्चस्तरीय सुविधासहितको लगानी भइरहेको छ । कार्यक्रममा मण्डनदेउपर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले नगरकोट तीन जिल्लाका चार पालिकाको संगमस्थल भएकाले यसको प्रवर्द्धन महत्वपूर्ण रहेको बताए ।