महोत्तरी — सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा पार्टी प्रवेश गराएका छन्। महोत्तरीमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी–४ का सांसद महेन्द्रकुमार राय, मधेश प्रदेश सभापति कृष्ण यादव र महोत्तरी कांग्रेस सभापति नागेश्वर यादवको पनि उपस्थिति थियो।
देवेन्द्र यादव लामो समयदेखि प्रहरीको फरार सूचीमा छन्। २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले असई थमन विकको हत्या गरेका थिए। घटना भएको तीन वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरिएको थियो। विकको हत्यामा संलग्न सात जनालाई २०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको थियो।