काठमाडौं , नागरिक उन्मुक्ति पार्टी (नाउपा) का महासचिव तथा संसदीय दलका नेता गंगाराम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाही गरेकी छन्। अध्यक्ष श्रेष्ठले चौधरीलाई संसदीय दलको नेतासहित महासचिव पदबाट हटाएको जानकारी दिएकी हुन्।श्रेष्ठका अनुसार चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड र छापको दुरुपयोग गर्दै पार्टी हितविपरीत काम गरेका थिए। उनलाई दुई पटकसम्म स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो। समाचार स्रोतका अनुसार, अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार कारबाहीको सूचना पठाएकी छन्। नाउपा संस्थापकहरूको साउन १५ गतेको भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको थियो, तर निर्वाचन आयोगले साउन २७ गते उनलाई अध्यक्षको मान्यता दिएको थियो।