नेपालका हितैषी एक जना भारतीय मित्र हुनुहुन्छ, दिपक मल्लिक । वनारस हिन्दु विश्वविद्यालयमा ४० वर्षबढी प्राध्यापक भएर रिटायर्ड (८४ पार) जीवन बिताउन थाल्नुभएको पनि दशकौँ बितिसकेको छ । गान्धी अध्ययन प्रतिष्ठानका एकसमय प्रमुख र हाल अभिभावक । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, रामहरि जोशी आदि इत्यादि तमाम नेपाली नेताहरूका मित्र राजनीतिक सल्लाहकार । सिताराम याचुरी (चर्चित कम्यूनिष्ट नेता) नितिश कुमार (भेट्रान बिहारी नेता हाल मोदी सरकारका एक खम्बा) मोहनप्रकाश (तत्कालीन विएचयू छात्रसंघका अध्यक्ष, कालक्रममा कांग्रेस आइका प्रवक्ता) डिपी त्रिपाठी (राजीव गान्धीका राजनीतिक गुरु पूर्वमन्त्री) प्रदिप गिरी (नेपाली कांग्रेसका बौद्धिक नेता) आदि इत्यादिका क्लास गुरु । विसं २०२९ साल तिनताका म नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलालसँग नियमित एक वर्ष नेपाली जनआन्दोलन विषयक क्लास लिएर अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेविसंघ) वनारस शाखाको निर्वाचनमा समाज सेवा सचिवमा विजयी भएर प्रदिप गिरिको संगतबाट बीपीको नजिक पुग्दै थिएँ । त्यही क्रममा प्रदिपजीको साथ लागेर दिपक मल्लिकजीसँग चिनाजानी भएको थियो । त्यो चिनजानको आज हिसाब गर्दा झण्डै ५० वर्ष पूरा भइसकेको हुन्छ । नितिशकुमार र सिताराम याचुरीसँग चिनाजानी भएन । डिपी त्रिपाठी काठमाडौं आएका बखत प्रदिपजीसँग एक÷दुई प्याग बैठक भए पनि घनिष्ठता विकसित थिएन । डिपी त्रिपाठीको हाम्रो ०४६को आन्दोलन सन्दर्भमा निर्णायक योगदान छ, जुनसुकै समय विस्तृत विवरण ल्याउँला । मोहन प्रकाश अहिले पनि काठमाडौं आएका बखत जस्तोसुकै हतारो भए पनि मलाई नभेटी फर्कनु हुन्न । दिपक मल्लीकजीलाई त ५० वर्षको अन्तराल मैले नै बिर्सिसकेको थिएँ । नक्खुको ओरालोमा मारिएका चार सहिदमध्ये एक कसैले सुनाइदिएका रहेछन् । पछि प्रदिपजीबाट थाहा पाउनु भएछ, त्याहाँ मरेका त होइन, तर जिउँदो सहिदका रुपमा अथक राजनीतिक योद्धा वरिष्ठ लेखक पत्रकारको चिनारी बनाएर जीवित । नेपाली जनआन्दोलन प्रतिको चासो र प्रदिपजीबाट थाहा पाएर जिउँदो सहिदको चिनारीले उहाँलाई मसँग भेट गर्ने इच्छा जागेको रहेछ । यसक्रममा प्रदिपजीको स्वर्गारोहण भएको पनि दुई वर्ष पूरा भइसकेको रहेछ । उहाँ स्मृतिको एक कार्यक्रममा मल्लिकजीलाई प्रमुख अतिथीको रुपमा प्रवचन दिन बोलाइएको काठमाडौंमा उहाँको अगुवाइ गर्ने प्रदिपजी सांसद हुँदाका सरकारी पिए मन्दीप भारतीलाई वनारसदेखि नै ‘मलाई रेवतीरमण सुवेदीसँग भेट गर्ने चाजो मिलाउनु’ भन्ने काम अह्राउनु भएछ ।
खबर पाएपछि मल्लिकजीसँग के कुरा गर्ने होला ? म अलिकति सोचमा परेँ । प्रदिपजीका पनि गुरु । आफ्ना गुरु प्रदिपजी (भारतीय स्वार्थ डिजाइन राजनीतिका होइन, विद्याका अध्ययन पद्धतिका) भनेपछि मेरा त महागुरु नै हुनुभयो । ५० वर्षअघिको बिर्सिसकेको प्रदिपजीले एक÷दुई प्रसङ्गमा ‘मल्लिकजीले खुब सम्झिनु हुन्छ’ भनेको बाहेक उहाँको सोच, समझ, चिन्तन र विचारधाराबारे कुनै जानकारी अध्यावधिक थिएन । पंडीन जवाहरलाल नेहरू (जसले भारतमा १८ वर्ष शासन गरे, तर बीपीलाई नेपालमा १८ महिना पनि शासनमा टिक्न दिएनन्) डक्ट्रीनका वकालतकर्ता डा. राममनोहर लोहिया डक्ट्रिन (यस विषयमा मेरा दर्जन बढी पुस्तकहरूमा पर्याप्त आइसकेको छ)का आलोचक भन्नेसम्म गाइँगुइँ कता–कताबाट मेरो अध्ययन पद्धतिमा स्मेल थियो । ०७ सालको परिवर्तन सेरोफेरोमा हाम्रा जननायक बीपी कोइराला नै नेहरू सत्ताको चकाचौधमा वर्गलिएर लोहिया डक्ट्रिन (नेपालमा समाजवादको प्रयोग अभ्यास गरेर भारतलाई बाटो देखाउने) उपेक्षाको पश्चाताप् (आत्मवृतान्त) झेल्नुपरेको पूरा अध्ययन मलाई थियो । जुन अध्ययनको पाठ्यक्रम मल्लिकजीलाई अवगत गराएर भारतले नेपाललाई हेर्ने ‘नेहरू डक्ट्रिन’मा ‘कोर्स करेक्सन’ गर्न छलफल विचार विमर्श गरिदिनुहोस् भन्ने गुरुका पनि गुरुलाई विनम्र निवेदन गर्ने विचार लिएँ ।
भारतको नेपाललाई हेर्ने ‘नेहरू डक्ट्रिन’मा ‘कोर्स करेक्सन अपरिहार्य’ भन्ने मेरो यस पाठ्यक्रमलाई एक प्रोफेसरको हैसियतले मल्लिकजीबाट कति ग्रहण भयो या कति प्रयत्न होला ? त्यो गौण कुरा हो । मुख्य कुरा यसमा आम नेपाली बौद्धिकता र नेपाल सरकारबाटै सम्पूर्ण ताकत लगाएर प्रयत्न गर्नुपर्ने हुन्छ । ‘नेहरू डक्ट्रिन’ प्रारम्भ भएको विसं २००८ सालदेखि आजको मितिमा आइपुग्दासम्म त्यसमा ‘कोर्स करेक्सन’ गर्ने प्रयत्नकै कारण राजा महेन्द्र मारिए, राजा वीरेन्द्रको विभत्स वंश विनास भयो बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी किनारामा धकेलिए । मदन भण्डारीको हत्या भयो । परिणाम धेरै विवरणमा जानै परेन । ०७ साल उतासम्म नेपालको अर्थतन्त्र भारतको भन्दा धेरै सम्पन्नशाली आत्मनिर्भर थियो । एक रुपैयाँ नेरु (सिक्का)बाट दुई रुपैयाँ भारु आउथ्यो । र आज कहाँ पुगेका छौँ र आम जनताको हालत के छ ? पछिल्ला जननायक बनेका दुर्गा प्रसाईँबाट सबै छर्लङ्ग भइरहेकै छ । आम जनजागरणले थाहा पाउन रवि लामिछाने पनि एक माध्यम भइरहेका छन् । रवि लामिछाने नामको ३० लाख ४० लाख हस्ताक्षर उनको पक्षको नभएर कांग्रेस, एमाले, माओवादी, राप्रपा आदी इत्यादि दलहरूका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको लुटतन्त्र मनपरितन्त्र राष्ट्रघात जनघातविरुद्धको हो भन्नेचाहिँ प्रस्ट बुझ्नुपर्ने हुन्छ ।
०७ सालको परिवर्तनमा सन् ५०को नेपाल भारत असमान सन्धिमा हस्ताक्षर गरेको पुरुस्कार राणा प्रधानमन्त्री मोहन शमशेरले नै निरन्तरता पाएका थिए । त्यसमा असन्तुष्टि हुँदाहुँदै पनि परिस्थितिजन्य बाध्यताले कांग्रेस (परिवर्तन)तर्फ नेतृत्व गरेर बीपी गृहमन्त्री हुनुभएको थियो । त्यही कालखण्ड (विसं २००८)मा द्रोणाचार्य पुत्र अस्वस्थामाको निधारमा कृष्णले पुर्याएको चोट घाउजस्तो बीपीबाट नेहरूको स्वाभिमान आन, मान, सम्मानमा जिन्दगीभर (सात पुस्तासम्म) बिर्सन नसक्ने पिरोलिइरहने चोट (घाउ) पुग्यो । त्यही चोट घाउको पीडा रन्थनाहटमा त्यसपछि लगत्तै मोहन शमशेर र बीपीलाई सत्ताच्यूत गरेर मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएर नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिक क्याम्प खडा गरेर नेपालको सार्वभौमिकतालाई १९ वर्षसम्म बन्दक बनाइयो । १९ वर्ष किन भनिएको भने विसं २०२७ सालमा आइपुगेर मात्र राजा महेन्द्र ती सैनिक क्याम्प उखेल्न सफल भएका थिए । सात पुस्तासम्मलाई पिरोल्न घाउ चोट किन भनिएको भने यतिखेरसम्म पनि सोनिया गान्धी (नेहरूकी नातीनी बुहारी) भारतीय सत्तामा निर्णायक रहन सकेकी भए सिक्किम भइसक्ने पक्का थियो । सनातन कालदेखि चीनले नेपाललाई आफ्ना कुल देवताको बासस्थान (मन्दिर) मान्दै आएको फ्याक्टरले नेपाल भारतमा विलय (लिपुलेक, लिपियाधुरा, कालापानीजस्तै) हुनबाट जोगिएको र भोलि पनि जोगिनेमा त्यसका ऐतिहासिक विवरणमा यथा समय अवश्य आउने नै छु । भारतको हालको नेपाल नीति ‘नेहरू डक्ट्रिन’मा ‘कोर्स करेक्सन’ नहुँदासम्म वर्वादीको वर्तमान हालतमा सुधार नआउनेचाहिँ पक्का छ ।
मैले प्रस्तुत आलेखको प्रतिपाद्य विषय दिपक मल्लिकलाई सुनाएको ‘नेहरू डक्ट्रिन’ पाठ्यक्रम (इतिहास) निम्नलिखित छ । भयो के भने ५०को असमान सन्धिमा हस्ताक्षर गराएका कारण नेहरूको नेपालनीति त्यतिखेर मोहन शमशेरलाई टाउकोमा चढाएर पुलपुल्याउने थियो ।
प्रधानमन्त्री भएपछि मोहन शमशेरको भारत भ्रमणको कार्यक्रम बन्यो जसको निरन्तरता आजसम्म कायम रहेको पछिल्ला प्रधानमन्त्री खड्ग ओलीको मरिहत्ते प्रयत्नबाट पनि छर्लङ्ग हुन्छ । त्यसमा मोहन शमशेरले कहिलेसम्म प्रधानमन्त्री रहने निश्चित नहुँदा राष्ट्रिय ढुकुटीबाट कसैले १९ बक्स भनेका छन् कसैले १४ बक्स भनेका छन् हिरा, मोति, जवाहरात एउटा ठूलो धनराशि दिल्ली पु¥याएर आर्थिक निश्चित हुने विचार लिएछन् । त्यतिखेर प्रधानमन्त्रीको सवारी एयरपोर्टमा चेक हुने मोहन शमशेरलाई कल्पना पनि थिएन । तर गृहमन्त्री रहनुभएका बीपीले थाहा पाएर सबै बक्स एयरपोर्टमै जब्थ गरिदिनुभयो । दिल्लीमा मोहन शमशेरको स्वागतका लागि एयरपोर्टदेखि नै रातो कार्पेट ओछ्याएर प्रधानमन्त्री नेहरू तैनाथ थिए । रातो कार्पेटमा पाइला टेक्नासाथ ‘के प्रजातन्त्रमा निजी सम्पत्ति राख्न पाइँदैन ?’ भन्दै मोहन शमशेर नेहरूसँग रातोपिरो हुँदै नराम्रोसँग जङ्गिए । कुरो थाहा पाएपछि नेहरूले थुमथुमाउँदै भने, ‘फिक्र नलिनुहोस् महाराज । तपाईँको गृहमन्त्री बीपीलाई भनेर भोलि नै तपाईँका सबै बक्स दिल्ली आइपुग्ने व्यवस्था मिलाउँछु’ । त्यत्रो विशाल भारतका प्रधानमन्त्रीको यति पक्का वचन पाइसकेपछि मोहन शमशेर ढुक्क भएर स्वागत सत्कारमा रमाउन थाले । यता नेहरूको सन्देशमा बीपीले जवाफ फर्काउनुभयो, ‘म भारतको गृहमन्त्री होइन । आफ्नो देशको सम्पत्ति जोगाउन नेपाल सक्षम छ ।’ बीपीको यस्तो जवाफले मोहन शमशेरका अगाडि नेहरूलाई टाउको उठाएर आँखा जुधाएर उभिन असम्भव भयो । लाजको पसारो मरेको जुनीजस्तो भयो । यसैलाई मैले बीपीबाट नेहरूको आनमान सम्मानमा अस्वस्थामाको निधारमा कृष्णले पुर्याएको चोटजस्तो सात पुस्तालाई पुग्ने घाउ भनेको हुँ । अब त बीपी मात्र होइन लाजको पसारो मोहन शमशेर नै पनि नेपालको प्रधानमन्त्री भइरहनु चोट घाउ चहराइरहनुजस्तो मात्र हुन्थ्यो । परिणाम मोहन शमशेर बीपी दुवै लखेटिएर नेपालका छातीमा सैनिक क्याम्प गाडेर सार्वभौमिकता बन्धक परेको माथि नै आइसकेको छ । यदि सन् ०६२को चीन भारत युद्धमा भारत नराम्रोसँग नपछारिएको भए माओत्सेतुङको आडमा महेन्द्रले ती क्याम्प उखेल्ने सम्भावना हुन्न थियो । माओत्सेतुङले राजा महेन्द्रलाई भन्नुभएको जस्तो यतिखेरसम्म नेपाल भारतको एउटा प्रान्तजस्तो रहिरहने थियो । यसैलाई मैले ‘चीन फ्याक्टर’ भनेको हुँ ।
निष्कर्षमा जबसम्म भारतको नेपाल नीति यो ‘नेहरू डक्ट्रिन’मा ‘कोर्स करेक्सन’ हुन्न तबसम्म नेपालको स्वाधीनता र स्वाभिमान सम्भव छैन । चीन, भारत, रुस एक ठाउँमा उभिनुपर्ने विश्वशक्ति सन्तुलनको वर्तमान बाध्यात्मक पृष्ठभूमिमा ‘कोर्स करेक्सन’को उपयुक्त समय अहिले निकट आइपुगेको छ । ‘रअ’ स्थापनाका डिजाइनर ‘केजीवी’का पूर्वप्रमुख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण हुँदैछ । त्यसबखत मोदी र पुटीनबीच नेपालको चीन रणनीतिअनुकूल समझदारी हुने पक्का छ । यसमा पहल गर्ने हैसियत राजसंस्थामा मात्र जोगिएको हुँदा प्रस्तुत आलेखको शीर्षक ‘राजा ज्ञानेन्द्रलाई सम्बोधन’ राख्नुपरेको हो । अस्तु ।