कर्णाली । यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘बृहत् सरसफाइ कार्यक्रम’मा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताएका छन् ।
सकेसम्म फोहरलाई मोहरमा बदल्ने गरी सिर्जनशील कार्य गर्न उद्योगी एवं व्यापार व्यवसायीलाई अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले प्रकृतिमैत्री क्रियाकलापबाट मानव स्वास्थ्य स्वस्थ र स्वच्छ राख्ने बताए । उनले वातावरणीय सरसफाइले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने भन्दै यसमा सबै सरोकारवालाले आफ्नो अधिकारका मात्र कुरा नगरी कर्तव्य एवं दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
“आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई समेत यसले खुसी बनाउँछ”, उनले भन, “सेरसफाइले स्वस्थ जीवन त हुन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई पनि आकर्षण गर्छ ।”
उनले प्रदेशवासीलाई भदौ ४ गतेको दिनलाई आजदेखि सरसफाइ, सचेतना तथा व्यवस्था ल्याउन योगदान पुर्याउने सपूतहरूको सम्मान र उनीहरूले देखेको सपना पूरा गर्ने कार्यक्रम तीन दिनसम्म उत्सवका रूपमा मनाउन अपिल गरे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्षमा हर्षविक्रम खड्कालगायत सरोकारवालाको सहभागिता थियो ।