चितवन । जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा जिल्लाका तीन जनाले ज्यान गुमाएका छन् । गत साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका र ती मध्ये तीन जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।
भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानीज इन्सेफ्लाइटिस भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने जानकारी दिँदै उनले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने इत्यादि जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।