रुपन्देही, रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ। चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक समेत हुन्। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई बुधबार चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो। गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्न गएका भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित पक्राउ गरिएको थियो। यादवको बयानका आधारमा कँडेलसमेत संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने आरोपमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।