४ भदौ २०७९ नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरिको स्वार्गारोहण भएको ४ भदौ २०८२का दिन उहाँको स्मृतिमा केही कर्मकाण्डी स्मृति कार्यक्रमका समाचार आएका भेटिए । यसबीच नेपाली पत्रकारिता जगतकी अग्रणी नारी भारती सिलवाल गिरी (रेडियो नेपालमा चर्चित अंग्रेजी समाचार वाचिका) र नक्खुको ओरालोमा मारिएका सहिद लिलानाथ दाहालका भाई खिलानाथ दाहालबाट छुट्टाछुट्टै मोटामोटा उल्लेखनीय ‘स्मृति ग्रन्थ’ बजारमा आएका थिए । ती दुवै ग्रन्थमा मेरा पनि केही सम्झनाका हरफहरू अभिलेख छन् । भारती दिज्यूबाट प्रकाशमा ल्याइएको ‘स्मृति ग्रन्थ’मा प्रदीप गिरी र शेरबहादुर देउवाको आपसी सम्बन्ध विषयमा अलिकति छोइएको पाठ्यक्रमलाई नै यस्ता स्तम्भमा अट्ने जति यहाँ अभिलेख गर्न चाहन्छु । र यस्ता पाठ्यक्रमले कांग्रेसको पछिल्लो पतनोन्मुख सोच, समझ, नियत आकलन गर्न नयाँ पुस्ता या आउने पुस्तालाई मद्दत पुग्ने ठान्दछु ।
हुन त आम नेपाली जनताको टाउकोमा २९ खर्बबढी वैदेशिक ऋण बोकाएर राष्ट्रिय अर्थतन्त्रलाई ८३ प्रतिशतभन्दा बढी विदेशी निर्भरतामा पुर्याएका राजनीतिक धरातलमा प्रदीप गिरीको ‘स्मृति’मा शेरबहादुर देउवाको ‘काण्ड’लाई पाठ्यक्रम बनाउनु मरेको बाघको जुँगा उखेल्नुजस्तै कुनै अर्थ राख्दैन । तथापि के गर्नु ? देश बेचेका (लिपुलेख, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र) जनता बेचेका (भूटानी शरणार्थी काण्डदेखि भिजिट भिसासम्म) साक्षीदशीले प्रमाणित भइसक्दा पनि दास मानसिकता कविलायी चेतनाबाट माथि उठ्न नसकेका आम मतदाताले पटक–पटक तिनै नेतृत्व (देउवा, ओली, प्रचण्ड, लिंदेल आदि इत्यादि)लाई नै सत्तामा पुर्याएर काण्डै काण्ड मच्चाउन अवसर जुटाइदिने गरेका कारण यसखालको पाठ्यक्रम निर्माणमा जाँगर गर्नुपरेको हो ।
बिहानले दिनको संकेत गर्छ भनेजस्तो यो घटना बहुदल आएर ०४७ को संविधान जारी हुनुअघिको हो । हिसाब गर्दा ३५ वर्ष पूरा हुन्छ । तिनताका प्रदीपजी मेरो विद्या अध्ययन पद्धतिका मात्र होइन राजनीतिका पनि गुरु हुनुहुन्थ्यो । उहाँ त्यतिखेर पञ्चायतभित्र सूर्यबहादुर थापाको भूमिका ठीक छ भन्नुहुन्थ्यो । ‘राजालाई मेरो आवश्यकता छ, मलाई राजाको आवश्यकता छैन’ भन्ने सूर्यबहादुर थापाका यस्ता कथनको इन्दिरा गान्धी फ्याक्टरतर्फ मेरो राजनीतिक दृष्टि विकसित भइसकेको थिएन । ०४७ को संविधान जारी भएर गिरिजाले कांग्रेसको बहुमतको सरकार लत्याएर मध्यावधिमा गएर अस्थिरताको जग हालेर जब कांग्रेसले सूर्यबहादुर थापा र एमालेले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए त्यसपछि मात्र मलाई गणेशमान कृष्णप्रसाद लखेटिनुको बीपी विचार अन्त्येष्टिको सम्पूर्ण साङ्गोपाङ्गो तात्पर्य छर्लङ्ग भएको हो । यहाँनेर एउटा रोचक घोचक प्रसङ्ग उल्लेख गरिहालौँ । सूर्यबहादुर थापाले कांग्रेसी सांसदहरूको विश्वासको मत लिँदा ठीक वडादशैँ महाअष्टमीको दिन पारेका थिए । तिनताका प्रदीपजी त्रिपुरेश्वरस्थित दिपकुमार उपाध्यायको घरमा बस्नुहुन्थ्यो । उहाँले थापालाई विश्वासको मत दिएर डेरा आइपुग्दा म त्यहीँ थिएँ । जब उहाँ डेरामा प्रवेश गर्नुभयो मैले उहाँको गर्दन सुमसुमाउन थाल्दा ‘के गरेको ? भनेर झर्किनु भयो त ‘वलीको बोको भएर आउनु भएको रगतको टाटो हेरेको’ जवाफ दिएको थिएँ । ‘कांग्रेसले बीपी भेट्टायो’ शीर्षकको त्यस हप्ताको मेरो लेख आम राजनीतिक वृत्तमा चर्चित पनि भएको थियो । ‘पञ्चायतको विकल्प दुई दलीय व्यवस्था’ लेख्दा छाप्ने पत्रिका खारेजी र सम्पादकलाई जेल भएर हालका स्वघोषित सर्वज्ञाता पत्रकार विजयकुमार पाण्डे बागबजारको भक्तपुर बसस्टान्ड म हिँड्ने गरेको बाटो कुरेर अन्तरवार्ता लिने गरेका त्यसबखतसम्म मेरो लेखकीय ताकत आंशिक चिनारी हुन थालिसकेको थियो ।
०४६को बहदल आएर ०४७को संविधान जारी हुनुअघिको कुरो थालनी गर्दा गर्दै सूर्यबहादुर थापाको प्रसङ्ग आउँदा निकै टाढा पुगेर प्रदीपजीको गर्दन छाम्न पुगेछु । सूर्यबहादुर थापाको प्रसङ्गचाहिँ के हो भने उनी बहुदल आउनुअघि मरिचमान प्रधानमन्त्रीकालमा राजा वीरेन्द्रका विरुद्ध ‘भूमिगत गिरोह’को हल्ला पिटेर कांग्रेस एमालेलगायत बहुदलवादी माझ आशालाग्दो हिरो भएका थिए । ०३३ सालमा बीपी ‘राजा र मेरो गर्दन एकठाउँमा’ भन्दै निर्वासन त्यागेर देशभित्र आउँदा ‘बीपीलाई फाँसी दिनुपर्छ’ भन्दै देशव्यापी स्यालहुइयाँ मच्चाएको थापाको कर्तुत यसबखतसम्म कांग्रेसीहरूले बिर्सिसकेका थिए । ‘भूमिगत गिरोह’को हल्ला पिट्न ‘साप्ताहिक मञ्च’ नामक पत्रिका चलाएका थिए । त्यसलाई सरकारले प्रतिबन्ध गरेपछि ‘साप्ताहिक विमर्श’ नामक पत्रिका चलाउन थाले । त्यसलाई पनि प्रतिबन्ध गरेपछि ‘जनज्योति साप्ताहिक’ नामक अर्को पत्रिका चल्न थाल्यो । सिरहा प्रदीपजीको जिल्लाका शिवकुमार खड्का त्यस पत्रिकाको प्रकाशक सम्पादक थिए र ज्यालादारी मजदुरीको सिलसिलामा म त्यस पत्रिकाको कामका हिसाबले प्रधान सम्पादकको भूमिकामा पुगेको थिएँ । एक÷दुई उनका विज्ञापन व्यापारिक कन्सर्नबाहेक खड्काले मलाई बहुदल पक्षधर सम्पूर्ण समाचार विचार आफ्ना हिसाबले सम्पादन गर्न पूर्ण छुट दिएका थिए । यहाँनेरी एउटा रोचक पाठ्यक्रम उल्लेख गरिहालौँ । ‘रोम जलिरहेको छ, निरो बासुरी बजाइरहेको छ’ भाषणलाई लिएर गणेशमानजीलाई डिल्लीबजार खोर पु¥याएका बखत ‘रावणरथी विरथी रघुविरा’ फ्रन्टपेज व्यानर समाचार बनाएको त्यो अंक सबै पत्रिका पसलबाट थुतेर सूचना विभागले सरकारी अफिसमा गोदाम गरेको थियो । यो आलेखको सन्दर्भ त्यही ‘साप्ताहिक जनज्योति’सँग जोडिएको हुनाले यति विवरण ल्याएँ ।
अब बहुदल आयो । बहुदल आउनुअघि विपिन कोइराला र शिववहादुर खड्का गाउँफर्क छिरेका तिनका पछि लागेर शेरबहादुर देउवा पनि जाने थाहा पाएर (गिरिजाबाट चार मन्त्री मागेका राजाले दुईटा मात्र दिने) कृष्णप्रसाद भट्टराईले बेलायती राजदूतावासलाई भनेर लण्डन पठाइदिनुभएको त आम कांग्रेसी जनजनसम्म पाठ्यक्रम पुगिसकेकै हो । देउवाको बेलायत बासको दिनचर्याबारे पनि प्रख्यात लेखक (अध्ययन पद्धतिका हिसाबले आफैँ एक विश्वविद्यालय) दिनेश सत्याल (सौरभ)ले विवरण ल्याइसकेकै छन् । सौरभ बीबीसीमा कार्यगत रहँदा संयोगले एउटै घरमा बास परेको रहेछ । बहुदल आएपछि देउवा हान्निएर नेपाल फर्किए । पार्टीले उनलाई ‘शेरे पश्चिमाञ्चल’को तक्मा भिराइदियो । त्यसबखतसम्म प्रदीपजीको राम्रै जान पहिचान मित्रता थियो । होइन भने गिरिजाको तारो भएका (कारण यथा समय अवस्या ल्याउँला) प्रदीपजीसँग जान पहिचान हिमचिम बढाउन आम कांग्रेसीजन तर्किने गर्दथ्ये । मेरो हिमचिमको सिकायत लिएर रामचन्द्र पौडेल चिरञ्जीवी वाग्लेहरूको एउटा डेलिगेसन किसुनजी कहाँ पुगेका ‘मोराहरू तिम्रो सिकायत लिएर आएका थिए’ किसुनजीले बताउनुभएको । ‘मोराहरू’ किसुनजीको थेगो थियो । गिरिजाको तारो भएकै कारण गणेशमान भट्टराईले चाहँदा चाहँदै पनि प्रदीपजीले ०४८को निर्वाचनमा टिकट पाउनुभएन । ०५१को मध्यावधिमा गिरिजा पच्छारिएर एमाले पहिलो शक्ति भएपछि मात्रै प्रदीपजीको सांसदको ढोका खुलेको थियो ।
प्रस्तुत आलेखको ‘काण्ड’चाहिँ के हो भने बेलायतबाट फर्केपछि ‘शेरे पश्चिमाञ्चल’ देउवाको पश्चिमाञ्चल भ्रमणको कार्यक्रम बन्यो । कैलाली हो या नेपालगञ्ज अहिले ठ्याक्कै सम्झना आएन । देउवाको स्वागतका लागि कांग्रेसी जिल्ला नेताहरूले एउटा भव्य कार्यक्रमको आयोजना गरेका थिए । मञ्चमा पाँचफिट साइजको देउवाको फोटो सजाइएको थियो र प्रमुख अतिथिको आसनमा देउवा विराजमान थिए । कार्यक्रम देउवाको फोटोमा माल्यार्पणबाट उद्घाटन हुनु थियो । उद्घोषकले प्रमुख अतिथिलाई फोटोमा माल्यार्पण गरिदिन अनुरोध गरे । सोहीबमोजिम देउवा आसनबाट उठेर आफ्नै फोटोमा माल्यार्पण गरे । कार्यकर्ताहरू (आज आएर परिणाम हेर्दा कमारा कमारी)ले तालीको गडगडाहटले खुशियाली प्रकट गरे । जनज्योति संवाददाताबाट त्यो समाचार मेरो टेवलमा आइपुग्यो । मुसुमुसु हाँस्तै त्यो समाचारलाई ‘जनज्याति’को फ्रन्ट पेजमा बक्स बनाएर हाइलाइट हुनेगरी प्रकाशनमा ल्याइदिएँ । कांग्रेस वृत्तमा मात्र होइन सम्पूर्ण जागरुक बौद्धिक पाठकमाझ ‘देउवाले आफ्नै फोटोमा माल्यार्पण’ गरेको त्यो समाचार हँसीमजाक र खिसी टिउरीको विषय बन्यो । कांग्रेस आलोचक पत्रिकाहरूले त त्यो समाचारलाई ‘कांग्रेस नेतृत्वको सोच, समझ, नियत’को उदाहरणका रूपमा समाचार, सम्पादकीय र विष्लेषणको विषय बनाए । त्यसपछि देउवाको मित्रमण्डलीमा कुरो उठ्नु सोधखोज हुनु स्वाभाविक थियो । त्यसमा कसैले सुनाइदिए छन् ‘प्रदीप गिरिले भनेर रेवतीरमण सुवेदीले त्यो समाचार बनाएका रहेछन् ।’ त्यसपछि देउवा प्रदीप गिरीप्रति फायर (आगो) हुनु स्वाभाविक थियो । मेरा लागि त त्यो समाचार आयो गयो सकियो कुनै सम्झिरहने विषय थिएन । तर प्रदीपजीका लागि भने निकै अप्ठ्यारो परेछ । एकातिर गिरिजाको तारो भइरहनुपर्ने र गणेशमान भट्टराईजीबाट पनि कुनै संरक्षण हुन नसक्ने । शेरबहादुर देउवासँग अलिकति मित्रता बढाउन खोज्दा टाढैबाट मुन्टो बटारेर छेउमा पर्नै नदिने । प्रदीपजीका विचारमा पुरानो मित्रताका हिसाबले देउवाबाट त्यस्तो व्यवहारको कुनै कारण थिएन । बुझ्दै जाँदा थाहा पाउनुभएछ कारण त्यही समाचार रहेछ । त्यसपछि उहाँले मलाई भन्नुभयो– ‘तपाईँले देउवाले पत्याउनेगरी मेरो विरोधमा लेख लेखेर राष्ट्रपुकारमा छापिदिनुपर्यो ।’ राष्ट्रपुकारमै छाप्न भन्नुको कारणचाहिँ त्यो पत्रिकाबाहेक देउवा अरु पत्रिका पढ्दैन थिए । मलाई पर्यो समस्या । प्रदीपजीको विरोधमा मैले लेख लेख्नु भनेको आफ्नै हुर्मत हुनेजस्तो हुन्थ्यो । एक–दुई आग्रह त कुनै न कुनै बहाना गरेर टारे । तर धेरै नै जिद्दी गर्नु भएपछि भाग्ने बहाना पाइन र लेख्नैपर्ने भयो । लेखेँ र राष्ट्रपुकारमै छपाए ।
लेख ‘राष्ट्रपुकार’को पेजभरी लामै थियो । त्यो सबै विवरण ल्याउन यहाँ सम्भव हुन्न । गुदी कुरो त्यहाँ प्रदीपजीलाई सम्बोधन गर्दै लेखे– ‘प्रदीपजी ! तपाईँ आफ्ना हरेक लेख, भाषण अन्तरवार्ताहरूमा महाभारतको कथा उदाहरणमा ल्याउने गर्नुहुन्छ, त्यो गलत गरिरहनुभएको छ । महाभारतको उदाहरण होइन, रामायणको उदाहरण ल्याउन थाल्नुहोस् । किनभने महाभारत भनेको भाइ–भाइकाबीच झगडा र द्वन्द्वको काव्य हो । तर आज हामीहरूलाई भाइ–भाइकाबीच द्वन्द्व र कलहको होइन, मित्रता र मेलमिलापको उदाहरण चाहिएको छ ।’ नभन्दै मेरो त्यो लेखले काम ग¥यो । त्यसपछिका देउवा प्रदीपजी मित्रता सहयात्राका थप विवरण यहाँ आवश्यक परेन । सबै सबैलाई थाहै छ ।
अन्त्यमा यस आलेखको शीर्षकमा परेको ‘काण्ड’ शब्दको ठाउँमा ‘सन्दर्भ’ राख्दा अलिकति नरमजस्तो लाग्दथ्यो । तर अति गर्नु अत्याचार नगर्नु । अत्याचार गरेपछि नरम भएर काम चल्दैन । अस्तु ।