काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म छ लाखभन्दा बढी औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म २१ हजार तीन सय ९२ औपचारिक रोजगारदाता दर्ता भइसकेका छन् भने छ लाख १३ हजार सात सय १८ जना श्रमिक कोषमा सहभागी भएका छन् ।
साथै, सात सय ७६ जना अनौपचारिक क्षेत्रका श्रमिक र चार सय ७६ जना स्वरोजगार व्यक्तिहरूलाई पनि कोषमा समेटिएको छ । मन्त्री भण्डारीका अनुसार वैदेशिक रोजगारीमा जाने १८ लाख ३५ हजारभन्दा बढी श्रमिक दर्ता भइसकेका छन् । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने स्किम ल्याउने देश नेपाल मात्रै हो,’ उनले भने । उनले अनौपचारिक क्षेत्रमा समेत श्रम निरीक्षणको व्यवस्था गर्न नेपाल सरकारले आईएलओ कन्भेन्सन ८१ र ८७ अनुमोदन गर्ने प्रक्रियामा रहेको जानकारी दिए । ‘यो अभियान हाम्रो आफ्नै भविष्यका लागि हो, वृद्धावस्थामा कसैसँग हात थाप्न नपर्ने गरी आफ्नै पेन्सनबाट जीवन धान्न सकिन्छ,’ उनले भने ।
यसैगरी, मन्त्री भण्डारीले संविधानको मर्मअनुसार संघीय संरचनामा श्रम–रोजगार सेवा एकीकृत गर्ने गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयलाई रुपान्तरण गरी प्रादेशिक श्रम तथा रोजगार कार्यालय बनाउने प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी, स्थानीय तहमा रोजगार सेवा केन्द्रलाई विस्तार गरी संघ, प्रदेश र स्थानीय तहका कार्यक्रमलाई एकीकृत गर्ने तयारी भइरहेको उनले बताए । ‘सरकारले आन्तरिक रोजगारीको माग सम्बोधन गर्न अलग्गै निकायको आवश्यकता देखेर नयाँ आन्तरिक रोजगार व्यवस्थापन महाशाखा गठन गरिसकेको छ,’ मन्त्री भण्डारीले भने । उनका अनुसार हाल महाशाखाले रणनीतिक योजना तयार गर्दैछ र आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई तीनै तहको साझा कार्यक्रममा रूपान्तरण गर्ने काम अघि बढाइएको छ । कोषलाई सबै श्रमिकसम्म पुर्याउन सरकार गम्भीर रहेको बताए ।