काठमाडौं । नेपालमा पहिलोपटक नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले आगामी भदौ २० गतेदेखि असोज १० गतेसम्म नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल–२०२५ आयोजना गर्न लागेको हो ।
बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत् काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा सो फेस्टिभल आयोजना हुने जानकारी गराइएको हो । नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले सांस्कृतिक पर्वहरूले ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिए । उनले कार्यक्रमहरुले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्ने उद्देश्य राखेको बताए । त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो फेस्टिभलमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको जानकारी दिए ।
उनले नेपालका विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्नेमा जोड दिए । यस किसिमको महोत्सवले नेपालमा पर्यटकको संख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पु¥याउने उनको विश्वास छ । फेस्टिभल सञ्चालन समितिका प्रमुख तथा नेपाल होटल व्यवसायी संघ (हान) का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’का लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे ।
उनले भने, ‘नेपाल लाइफ टाइम एक्सपेरियन्स लिने उत्कृष्ट गन्तव्य हो । पर्यटन र जात्रा–महोत्सव जोड्ने हाम्रो प्रयासअन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजमका लागि योगदान गर्ने हाम्रो विश्वास छ ।’ कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म चल्ने यस महोत्सवमा ४० वटा कार्यक्रमहरु आयोजना गरिने जानकारी दिइन् । इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने उनको भनाइ छ ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । यसरी, उपत्यकाका पुराना सहर– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।