काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा झाडापखला र हैजाका बिरामीलाई निःशुल्क उपचार तथा औषधि उपलब्ध गराउन निर्देशन दिएका छन् । वीरगञ्ज र आसपासका क्षेत्रमा हैजा र झाडापखलाको संक्रमण फैलिएपछि निरीक्षणका क्रममा अस्पताल पुगेका मन्त्री पौडेलले परीक्षण, औषधि तथा उपचारमा कुनै पनि शुल्क नलिन निर्देशन दिए । साथै, कुनै पनि औषधिको अभाव हुन नदिन तीनै तहका सरकारसँग समन्वय गरी आपूर्ति सुनिश्चित गर्न आग्रह गरे । मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । साथै, उनले निजी अस्पतालहरूलाई पनि सुलभ मूल्यमा सेवा उपलब्ध गराउन आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताए ।पाँच वटा क्लस्टरमा आधारित भएर आवश्यक काम भइरहेको उनले जानकारी दिए । नारायणी अस्पतालमा हाल ४८ जना संक्रमितको उपचार भइरहेको छ, जसमा दुई जना आकस्मिक कक्षमा छन् । बारा र रौतहटबाट चिकित्सक टोली, नर्सिङ कलेजका विद्यार्थी, महानगरपालिका तथा अन्य निकायबाट स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म झाडापखला र हैजाका दुई सय ५४ बिरामी दर्ता भएका छन्, तीमध्ये एक सय तीन जना उपचारत छन् । २२ जना आईसीयु, छ जना एचसीयुमा रहेका छन् भने एक सय २४ जना उपचारपछि घर फर्किसकेका छन् । मधेश प्रदेश सरकार, स्थानीय तह तथा संघीय सरकारबीच समन्वय गरेर दीर्घकालीन समाधानका उपायमा समेत काम अघि बढाइएको छ ।