काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्।साइबर ब्यूरोका अनुसार विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका महरलाई जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार हाजिरी जमानीमा छाडिएको हो।उक्त उजुरीका आधारमा प्रहरीले अदालतमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो। त्यसपछि अदालतले भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। बुधबार साइबर ब्यूरोमा उपस्थित भएका महरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला अदालतमा पेस गरेको थियो।
यसअघि पनि महरविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दर्ता गरेकी थिइन्। बझाङका स्थायी बासिन्दा महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुँदै एमालेको केन्द्रीय राजनीतिमा आएका हुन्।गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए। एमालेले २०७८ मंसिरमा उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। यौन विचलनसम्बन्धी अडियो सार्वजनिक भएपछि महरलाई एक पटक पार्टीले निलम्बन गरेको थियो। तर, पछि सचिवालयको बैठकले उनलाई पुनः जिम्मेवारीमा फर्काएको थियो।