काठमाडौं । मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका वडा नं.–४, धुम्वाराही (चिलिमे टावरमा रहेको)स्थित शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले गरेका छन् ।
वित्तीय सेवाहरुको विविधीकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएका बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका वडा नं.– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिकरुपमा वित्तीय सेवाको शुभारम्भ गरेको हो । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिएका थिए । साथै, बैंकले हाल गरिरहेकै प्रगतिलाई निरन्तरता दिँदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए ।
समारोहमा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सवलीकरणको लागि बैंक तथा नियामक निकायले अख्तियार गर्नुपर्ने रणनीतिहरुको बारेमा मन्तव्य राखेका थिए । समापन तथा धन्यवाद मन्तव्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महसुस गर्ने विश्वास बैंकले लिएको छ ।
एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसँग जोडिएको र पर्याप्त पार्किङ सुविधा रहेकाले सबैको पहुँचमा सहजता हुनेछ ।