नेपाल एक विकासोन्मुख राष्ट्र हो । देशमा धेरै राजनीतिक, सामाजिक र संरचनागत परिवर्तन आए पनि अझै औद्योगिक क्रान्ति आउन सकेको छैन । उत्पादनमूलक क्षेत्र विस्तार नभएकाले यहाँका होनहार युवाहरूले आफ्नो भविष्य सुरक्षित गर्न र परिवार पाल्नका लागि वैदेशिक रोजगार रोज्नुपर्ने बाध्यता छ । हजारौँ युवाहरूले आफ्ना सपनालाई काँधमा बोकेर परदेशको बाटो समाउँछन् । तर, उनीहरूले सपनामा देखेजस्तो जीवन पाउँदैनन् । कतिपय विदेशिएका नेपालीहरू घरी कामको पीडा, घरी स्वास्थ्य समस्या, अनि धेरैले त आफ्नै जीवन गुमाउनुपरेको भयावह वास्तविकतासँग जुधिरहेका छन् ।
देशमा धेरै परिवर्तन आए पनि औद्योगिक क्रान्ति अझै आउन नसकेकोले देशका होनहार युवा आज पनि अन्य मुलुकमा कामको खोजी गर्न जानुपरेको अवस्था छ । एक तथ्यांकअनुसार १७ वर्षमा १४ हजार नेपाली नागरिकले विदेशमा ज्यान गुमाउनुपरेको समाचारले विदेशी भूमि पनि कति असुरक्षित छ भन्ने देखाउँछ । अझ तिनका परिवारको आर्थिक क्षति, परिवारको सदस्य गुमाउनुको पीडा, साथै तिनका परिवारले पाउने दुःखको कुरा गर्ने हो भने यो कहालीलाग्दो अवस्था सिर्जना भएको देखिन्छ । यो आँकडाले मात्र पनि कति परिवारहरूको संसार उजाडिएको छ भन्ने कुरामा प्रकाश पार्छ । जब कुनै नेपाली नागरिकको वैदेशिक भूमिमा मृत्यु हुन्छ, त्यतिबेला उनको परिवारमाथि आर्थिक संकट मात्र आउँदैन, भावनात्मक पीडा पनि पहाडझैँ खस्छ ।
कति मानिस बाध्यताले विदेश जान्छन् त कति लहैलहैमै पनि गएको पाइन्छ । विदेश जाँदैमा के–के न हुन्छ भन्ने धारणाले पनि कतिपय विदेश गएको पाइएको छ । ज्यान गुमाउनु मात्र होइन, कति कम्पनीहरूले त पैसा नदिने र सम्झौता गरेभन्दा कम भुक्तानी गर्ने काम पनि गरेका छन् । थोरै पैसा दिने, गाह्रो काम लगाउने, बाध्यतामूलक काम लगाउने कुरा छँदै छ, त्यसभन्दा पनि असुरक्षित र अत्यधिक गर्मीमा काम गर्नुपर्ने, बिरामी हुँदा समयमै उपचार नपाएर विदेशी भूमिमा मृत्यु हुनुपर्ने अवस्थाले सारा नेपालीको मन रुन्छ ।
हुन त मानिस नमर्ने सहर हुँदैन, कसैलाई आकस्मिकरूपमा मर्ने रहर हुँदैन । तर कमाउने र परिवार पाल्ने आशामा, देशमा रोजगारी नपाएको अवस्थाले विदेश जान बाध्यता भएको छ ।
मर्ने त मरेर जान्छन्, बाँचेका पनि यत्तिकै पीडाले मर्छन् । मृत्यु हुनु त प्राकृतिक सत्य हो । तर, परदेशमा कमाउन गएको मानिस अकालमै ज्यान गुमाउँदा, साँचो पीडा त बाँचेका परिवारले भोग्नुपर्छ । मर्ने त मरेर गइहाल्छ, तर बालबच्चा टुहुरो हुन्छन्, श्रीमतीले एक्लै जीवन धान्नुपर्ने हुन्छ, बाउआमा सन्तानको शोकमा जिन्दगीभर करुणा बोकेर बाँच्नुपर्ने हुन्छ । यसरी देशले मात्रै नभई समाजले पनि आफ्ना धेरै सपनाहरू गुमाइरहेको छ ।
एउटा व्यक्तिको निधन हुँदा त्यो घर शोकमा डुब्छ, आर्थिक संकटमा डुब्छ, ऋणमा डुब्छ, बच्चाले पढ्न पाउँदैनन्, बूढा बाआमाले उपचार पाउँदैनन्, सन्तानलाई खान लगाउन समस्या हुन्छ । साथै, सानो उमेरका बच्चाले बाबाको मुख हेरेर हुर्कने अवसर गुमाउँछन् । आमा बाँचुन्जेल श्रीमान्को सम्झनामा आँसु बगाउन विवश हुन्छिन् । बाउआमाले आफ्नो वृद्धावस्थामा सन्तानको सहारा पाउने आश त्यागेर शोकमा बाँच्नुपर्छ । यो सबै एक साथ घट्दा ‘खुशी हराएका मानिसहरू’ नामक दुःखद यथार्थ हाम्रो समाजमा जन्मिन्छ ।
तर विदेश जानु आम नेपालीको रूपमै हेर्ने हो भने बाध्यता र रोजगारीको खोजी नै हो । तर काम गर्न गएका मानिसको मृत्यु हुँदा त्यहाँ बाँचेका मानिसको जीवनमा धेरै असर पर्छ । जब एक परिवारले आफ्नो सदस्य गुमाउँछ, त्यो पीडा केवल उनीहरूको निजी मात्र हुँदैन । यसले समाजमा पनि ठूलो प्रभाव पार्छ । वैदेशिक रोजगारीमा जानेहरूले आफ्नो गाउँघरमा नयाँ पुस्तालाई शिक्षा, रोजगारी र अवसर दिने सपना बोकेका हुन्छन् । तर, मृत्युका कारण जब उनी फर्केर आउँदैनन्, त्यसले गाउँको समग्र वातावरण नै शोकग्रस्त हुन्छ ।
यस्तो देख्दा–देख्दै पनि विदेश जानुपर्ने बाध्यता आम नेपाली समाजमा छ । त्यसैले वास्तविकरूपमा भन्नुपर्दा विदेश जानु धेरैका लागि रहर होइन, बाध्यता हो । देशभित्रै पर्याप्त रोजगारीका अवसर नहुनु नै युवालाई परदेश धकेल्ने प्रमुख कारण हो । शिक्षित भए पनि उपयुक्त रोजगारी नपाउने, श्रम गरे पनि दाम नपाउने, अवसर भए पनि न्यायपूर्ण प्रणाली नहुने हाम्रो अवस्थाले युवालाई विदेश धकेलेको छ । साथै असमान शिक्षा, असमान ज्यालाले पनि विदेश धकेलेको छ ।
विदेश जाँदा, एकातर्फ उनीहरू आफ्नो पसिनाले परिवार पाल्ने सपना बोकेर जान्छन् । तर अर्कोतर्फ कतिपय विदेशमा शोषण र दमनको चक्रमा फस्छन् । कहिले तलब नपाउने, कहिले कामकै बीच दुर्घटनामा ज्यान गुमाउने, कहिले असुरक्षित स्वास्थ्य व्यवस्थाका कारण अकालमै मृत्यु हुने अवस्था दोहोरिइरहेको छ । हाल केही दिनअघि पनि कतिपय कामदारलाई केही दिन बन्धक बनाएर पछि पैसा नदिई देश फर्काइदिएको अवस्था पनि छ । यसले घरलाई बिचलित बनाउँछ र मानिस अझै ऋणको दलदलमा फस्छ ।
नेपालमा प्रायः गाउँले संस्कृति सामूहिक भावनामा आधारित छ । एउटै गाउँको व्यक्तिको मृत्यु हुँदा पूरै गाउँले शोक मनाउँछन् । तर, परदेशमा भएको मृत्युले शवसम्म ल्याउन कठिनाइ हुन्छ, जसले परिवारलाई अझ गहिरो पीडा दिन्छ ।
पशुपति मन्दिरमा होस् वा अन्य दाहसंस्कार स्थलमा हेर्दा त झन् मन पोल्छ । परिवारको पीडा त देख्नै सकिन्न । यहाँ कतिपय अवस्थामा महिला सानो बच्चा बोकेरै आफ्ना श्रीमान्को शव हेर्न आएको दृश्य देख्दा अत्यन्तै पीडा लाग्छ । यसो हेर्दा महिलाको पीडा बढी देखिन्छ किनभने वैदेशिक रोजगारीमा मृत्यु भएका धेरैजसो पुरुष नै हुन्छन् । त्यसैले, श्रीमान्को मृत्यु भएपछि श्रीमतीले असाध्यै कठिन जीवन धान्नुपर्ने अवस्था आउँछ । समाजमा महिलाले अझै पनि ठूलो मानसिक र सामाजिक दबाब भोग्नुपर्ने अवस्था छ । उनीहरूलाई आर्थिक समस्या त हुन्छ नै, साथै समाजको आलोचना, जिम्मेवारी र असुरक्षाको पहाड पनि बोक्नुपर्ने हुन्छ ।
कतिपयलाई त ‘श्रीमान् खाइस्’ भन्ने आरोप पनि लगाइन्छ, जुन अत्यन्तै दुःखदायी हो । यस्ता अवस्थाले धेरै महिलालाई जिन्दगीभर पीडामा बाँच्न विवश बनाइरहेको छ । कतिपयलाई त पुनः विवाह गर्न समाजले सहजै स्वीकार गर्दैन, जसले उनीहरूको जीवन अझै जटिल हुन्छ । नेपालमा आजकल देखिएको यो आम समस्या हो ।
यसले बालबालिकाको भविष्यलाई पनि अन्धकारमा पुर्याएको हुन्छ । विदेशमा काम गर्न गएका बुबा फर्केर नआउँदा, बालबालिकाको जीवनमा गहिरो असर पर्छ । बाबाको मायाले पाउने सहारा, शिक्षा र मार्गदर्शन अभाव हुन्छ । आर्थिक दृष्टिले मात्र होइन, भावनात्मक दृष्टिले पनि उनीहरूको जीवन खालीपनले भरिन्छ । समाजमा हुर्कँदा उनीहरूलाई अन्य साथीहरूले बाबाको उपस्थिति भएको जीवन देखाउँछन्, तर उनीहरू टुहुरो बनेको पीडा भोग्न बाध्य हुन्छन् ।
अब समाधानको बाटो राज्यले खोज्नुपर्ने अवस्था आएको छ । यो पीडादायी वास्तविकताबाट हामीलाई समाधान खोज्नु जरुरी छ । यसका लागि केही मुख्य पक्षहरू विचार गर्नुपर्ने देखिन्छ ।
देशभित्र रोजगारी सिर्जना गरी कमसेकम साना–ठूला काम गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । सरकार र निजी क्षेत्र दुवैले मिलेर उद्योग, कृषि, पर्यटन, सूचना प्रविधिजस्ता क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुपर्छ । उद्योगहरूको पहिचान गरी खोल्ने र युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ ।
सुरक्षित वैदेशिक रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ । वैदेशिक रोजगारलाई पूर्णतया प्रतिबन्ध लगाउन सकिँदैन, तर यसलाई सुरक्षित बनाउन सकिन्छ । श्रमिकले बीमा, स्वास्थ्य सुरक्षा र न्याय पाउने वातावरण पाउनुपर्छ । अन्यायमा र दुःखमा परेकाको उद्धारमा दीर्घकालीन व्यवस्था गर्नुपर्छ ।
देशमा सीपको सिर्जना गर्नुपर्छ । शिक्षा र सीप विकास भएपछि युवा पलायन रोक्न सकिन्छ । युवालाई सीपयुक्त बनाउनुपर्छ ता कि उनीहरूले देशमै उद्यम सुरु गर्न सकून् । साथै, समाजको भूमिका पनि उत्तिकै जरुरी छ । परिवारले पीडा भोग्दा समाजले सहयोग र सहानुभूति दिनुपर्छ, आलोचना वा दबाब होइन । सहयोगको हात बढाउनु पर्छ ।
अन्त्यमा भन्नुपर्दा, नेपालका युवाहरूको श्रम र पसिनाले परदेशका भवन, सडक र उद्योग बनेका छन् । तर, आफ्नै देशमा रोजगारीको अभावका कारण उनीहरू परदेशमा जीवन गुमाउँछन् भने त्यो देशका लागि ठूलो विडम्बना हो । यो जनशक्तिलाई यहीँ लगाउन सके देश विकासमा टेवा पुग्छ । उद्योग–धन्दा विकास गर्न सकिन्छ । गाउँ–गाउँमा विकासको लहर ल्याउन सकिन्छ र बाँझो जमिनमा सुन फलाउन सकिन्छ ।
मर्ने त मरेर जान्छन्, तर बाँचेका परिवारलाई दिनदिनै आँसुमा बाँच्नुपर्ने स्थिति छ । बालबालिकाले बाबाको मुख देख्न पाउँदैनन्, श्रीमतीले जीवनभर पीडामा बाँच्नुपर्छ, बाउआमाले सन्तान गुमाएको पीडामा मृत्यु हुँदासम्म तड्पिरहनुपर्छ । यो यथार्थ केवल आँकडामा मात्र नभई हजारौँ परिवारको वास्तविकतामा अंकित छ ।
त्यसैले, आज आवश्यकता भनेको देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने, र पीडामा परेकालाई सामाजिक सहारा दिने हो । जबसम्म यो सम्भव हुँदैन, तबसम्म खुशी हराएका मानिसहरूको संख्या बढिरहन्छ ।
खुशी हराउन नदिऔँ, खुशी भएर बाँच्ने अधिकारको संरक्षण गरौँ । युवालाई देशमै राखी गरौँ । जसको खुशी हरायो अब अरूको खुशी नहराओस् ।