बर्लिन । जर्मन सरकारले गत वर्ष युक्रेनलाई गरेको सहयोगसहित १२.८ अर्ब युरो (१४.९ अर्ब अमेरिकी डलर) बराबरको हतियार निर्यात गर्न स्वीकृति दिएको जनाएको छ ।
गत वर्ष युक्रेनका लागि आठ अर्ब १५ करोड युरो बराबरको रक्षा सामग्री स्वीकृत गरिएको थियो र यो जर्मनीको कुल उत्पादनको ६४ प्रतिशत हो । सन् २०२४ मा विभिन्न मुलुकमा आपूर्ति गरिएका सामानको मूल्य १३ अर्ब ३७ करोड युरो पुगेको थियो ।
जर्मनीले सबैगरी, लगभग ८६ प्रतिशत स्वीकृति युरोपेली संघ, नेटो सदस्य राष्ट्रहरूका साथै यूक्रेन सिङ्गापुर र दक्षिण कोरियासहित पश्चिमी गठबन्धनका साझेदार देशमा गरेको छ ।
जर्मनी गत बर्ष ट्र्याक गरिएको र पांग्रा भएका सैन्य वाहनहरू उत्पादनहरूको सूचीमा शीर्ष स्थानमा थियो तर बम, बन्दूक, मिसाइल प्रणाली र युद्धपोतहरूको लागि पनि अर्डरहरू स्वीकृत गरिएको थियो। जर्मन सरकारले पाकिस्तान, थाइल्याण्ड, मलेसियालगायत देशका ६२ वटा आवेदन अस्वीकृत गरेको थियो ।
युक्रेनका भाइस चान्सलर तथा अर्थमन्त्री लार्स क्लिङबेलले यसै साता संयुक्त राज्य अमेरिकापछि युक्रेनको सबैभन्दा ठूलो सैन्य समर्थक जर्मनीले सन् २०२५ र सन् २०२६ मा किएभलाई सहयोग गर्न नौ अर्ब युरो खर्च गर्ने योजना बनाएको बताएका थिए ।
‘जबसम्म यो युद्ध जारी रहन्छ, हामी युक्रेनको पक्षमा उभिनेछौँ, किनकि यो हाम्रो स्वतन्त्रता र हाम्रो सुरक्षाको बारेमा पनि हो’, उनले किएभको भ्रमणका क्रममा भने । सन् २०२३मा पनि जर्मनीबाट युक्रेनमा सबैभन्दा बढी हतियार आपूर्ति गरेको थियो ।