काठमाडौं । माथिल्लो तादी खोला जलविद्युत् आयोजनाले औपचारिकरुपमा व्यावसायिक उत्पादन सुरु गरेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरेको हो ।
कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गतेदेखि नियमितरुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरु थालेको हो । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ऊर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो । भौगोलिक दृष्टिले यो परियोजना वाग्मती प्रदेश, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित छ ।
परियोजनाको इन्टेक करिब १५ सय मिटर र पावरहाउस १२ सय ८२ मिटरको उचाइमा रहेको छ । पावर हाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक पाँच सय पाँच मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुने गरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना एक सय वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो जसको परिमाण दुई सय ४७ घनमिटर प्रतिसेकेन्ड अनुमान गरिएको छ । नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेसनमा स्वीचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली छ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनमार्फत् राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ ।
यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ५० दशमलव ८९३ गिगावाट घण्टा वर्षायाममा र १० दशमलव पाँच सय २५ गीगावाट घण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ । कम्पनीको प्राथमिक सेयर निष्काशन आईपीओको प्रक्रिया अगाडि बढिसकेको छ र नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट बागमती प्रदेशसहित राष्ट्रिय विद्युत् आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।