काठमाडौं । नेपाल अब चिनियाँ सुरक्षा छाताभित्र रहने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ मा भएको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा चिनियाँ सुरक्षा छाताभित्र रहन स्वीकार गरेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयद्वारा उक्त भेटपछि जारी वक्तव्यमा ‘नेपालले चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स, ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ्सलाई समर्थन गर्ने’ भनिएको छ ।
चिनियाँ राष्ट्रपति सीले सन् २०२२ अप्रिल २१ मा बोआओ फोरममा पहिलोपटक ग्लोेबल सेक्युरिटी इनिसिएटिभ्स प्रस्ताव गरेका थिए । नेपालले उक्त चिनियाँ सुरक्षा सिद्धान्तलाई अहिलेसम्म समर्थन गरेको थिएन । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी जिनपीङले पठाएको निम्तोमा सांघाई सहायता संगठनको सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओलीले चिनियाँ सुरक्षा छातालाई समर्थन गरेका हुन् ।