धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै गएसँगै चुनावी सरगर्मी बढेको छ । नयाँ कार्यसमितिको लागि दाबेदारी प्रस्तुत गर्दै व्यवसायीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन् ।संघको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी नै घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । स्वाँर समूहले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्यानल र घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा व्यवसाय र व्यवसायीको हकहितका लागि कानुनी तथा प्रशासनिक समस्याहरूको स्थायी विशेष पहल, स्टार्टअप, इनोभेसन र क्रियसनलगायत नयाँ उद्यमशील ऊर्जासाथ युवा व्यवसायीहरूको लागि कोष समेत सञ्चालन गर्ने, विपद् व्यवस्थापन कोषको स्थापना र उद्योग व्यवसायीहरूको चाहनाअनुसार विधान संशोधन र परिमार्जन गर्ने, बैंक तथा वित्तीय संस्था, कर, भन्सार, बीमालगायत हाल विद्यमान समस्याको प्रभावकारी समाधानका लागि ठोस पहल गर्नेलगायतका प्रतिबद्धता उल्लेख छ ।
स्वाँरको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन् । महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार रहेका छन् । घोषणा कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए । वरिष्ठ उपाध्यक्ष ओझाले भने सोमबार प्यानल र घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् । भदौ २८ गते संघको निर्वाचन हुँदैछ ।