काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार सुरु गरेको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरू, नियमनकारी निकायहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजर, सेयरधनी, अहोरात्र कामप्रति समर्पित कर्मचारी, पत्रकारलगायत समस्त सरोकारवालाहरूलाई आभार व्यक्त गरेको छ ।
‘हालसम्मको उपलब्धिबाट हामीलाई थप कार्य गर्नको लागि ऊर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठूलो जिम्मेवारी वहन गर्नको लागि थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टकहोल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेका छौँ, आगामी दिनमा हामी सेवा उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरी हाल पाँच अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा २० अर्बको हाराहारीमा रहेको छ भने गत आवमा कम्पनीले एक अर्ब ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एड्भाइजरहरू समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रीय कार्यालय ज्ञानेश्वरसम्म बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रम गरी आठौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
कम्पनीले वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमहरू गरेको जानकारी दिएको छ । यसअन्तर्गत महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्थास्थ्य शिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम, शाखाहरूद्धारा विद्यालयहरूलाई शैक्षिक सामग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामग्रीहरू वितरण तथा सरसफाइ समेत गरी मनाइयो कम्पनीको भनाइ छ ।