काठमाडौं । करेन्ट चाउचाउको उत्पादक समेत रहेको यशोदा फुड्स प्रालिका कामदारहरु आन्दोलनमा उत्रिएका छन् । कम्पनी व्यवस्थापनले श्रमशोषण गरेको आरोप लगाउँदै कामदारहरु आन्दोलित भएका हुन् ।
श्रम ऐनअनुसार सेवासुविधा नपाएको, समयमा पारिश्रमिक नपाएको र कार्यस्थलमा विभेद भएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । दैनिक १२ घण्टा काम गरे पनि उद्योगले आठ घण्टाको मात्र पारिश्रमिक दिने गरेको उनीहरुको आरोप छ ।
श्रम ऐनअनुसार दैनिक आठ घण्टाका आधारभूत पारिश्रमिक चार सय ७० र महंगी भत्ता दुई सय ८४ जोडेर सात सय ५४ रुपैयाँ दिनुपर्छ तर कम्पनीले त्योभन्दा कम तलब दिने गरेको छ । उद्योगले १२ घण्टा काम गर्दा ११ सय ५८ रुपैयाँ दिनुपर्नेमा प्रतिदिन चार सय सात रुपैयाँ दिएर शोषण गरेको कामदारहरुको आरोप छ ।
शुक्रबार आन्दोलित श्रमिकहरु न्यायको मागसहित शिवराज नगरपालिकामा पुगेका थिए । नगरप्रमुख अजय थापाले श्रमिकको माग सम्बोधन गर्न उद्योगको नाममा पत्रचार गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ वीरपुरमा रहेको उक्त उद्योगका सञ्चालक विवादस्पद नागरिक कमल किशोर मालपानी रहेका छन् ।