आजको युग प्रविधिको युग हो । नेपालमा पनि विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट मानव जीवनको अविभाज्य अङ्ग भइसकेको छ । इन्टरनेटसँग जोडिएको एउटा महत्वपूर्ण पक्ष भनेकै सामाजिक सञ्जाल हो । इन्टरनेट मात्रै हुने र सामाजिक सञ्जाल नहुने हो भने नेपालजस्तो देशमा आजको दिनमा इन्टरनेटबाट काम गर्ने मानिस पनि निकै कम हुनेथिए होला तर सामाजिक सञ्जालले इन्टरनेटमार्फत आपसी विचार, जानकारी, तस्बिर, भिडियो वा अन्य सामग्री आदान–प्रदान गर्न सकिने डिजिटल प्लेटफर्म वा माध्यम बनाइदिएकोले नै आम मानिसले यसको प्रयोग गर्नेगरेका छन् ।
साधारण भाषामा भन्नुपर्दा, सामाजिक सञ्जाल भनेको मानिसहरूले आपसमा जोडिन, बोलचाल गर्न, विचार साझा गर्न, मनोरञ्जन गर्न, व्यवसाय प्रवर्द्धन गर्न र नयाँ जानकारी लिन–दिन प्रयोग गर्ने इन्टरनेटको एक किसिमको माकुराको जाल नै हो । जसमा नेपालमा पनि फेसबुकको प्रयोग साथीभाइसँग जोडिन, समाचार हेर्न, तस्बिर आदान–प्रदान गर्न तथा भिडियो सेयर गर्नको साथै व्यावसायिकरूपमा पनि निकै अगाडि देखिएको छ, यसैगरी बुढादेखि बच्चासम्मले युट्युबको प्रयोग पनि भिडियो हेर्न र आफ्ना समाचार आदानप्रदान गर्न, कुनै कुराको जानकारी दिनसमेत प्रयोग गर्दै आएका छन्, त्यस्तै गरी इन्स्टाग्राम नेपालमा युवामाझ अत्यन्तै लोकप्रिय छ जसले फोटो अपलोड गर्न, कुरा गर्नको साथै छोटकरी भिडियो पोस्ट गर्न पनि प्रयोग भइरहेको छ । यसबाहेक केटाकेटीदेखि वृद्धासम्म टिकटकको प्रयोग पनि उत्तिकै मात्रामा प्रचलित छ नेपालमा जसले राम्रा कुरादेखि नराम्रा कुरा समेत र शान्त हुनेदेखि असान्त दिमागलाई बनाउने समेतका भिडियोहरू यसमार्फत हेर्न र प्रदान गर्न पाइन्छ, अझ भन्नुपर्दा छोटो भिडियो बनाउन र हेर्नको लागि टिकटक प्रसिद्ध छ । साथै अरूको गीतमा वा भिडियोहरूमा समेत यसबाट आफ्नी अभिव्यक्ति दिन पाइन्छ । यसबाहेक अली पेसागत मानिसहरूले र राजनीतिज्ञहरूले ट्विटर (एक्स)को पनि प्रयोग गर्ने गर्दछन् जसले छोटकरी विचार वा समाचार प्रवाह गर्ने काम गर्छ । यसो हेर्दा, पेसागत र पेसा केही नभएकाहरूले तथा बालबालिका, विद्यार्थी, शिक्षक, कर्मचारी सबैले सामाजिक सञ्जाल प्रयोग गर्ने गर्दछन् जुन आजको युगमा समाचार प्रवाह गर्न अत्यन्तै सहज भएको छ । एक कुनाबाट अर्को कुनामा समाचार प्रवाह सामाजिक सञ्जालमार्फत अत्यन्तै छिटो हुनेगर्छ ।
यसरी, सामाजिक सञ्जाल आजका दिनमा शिक्षा क्षेत्रमा लागेका, स्वास्थ्यकर्मी, व्यवसायी, विद्यार्थी, मनोरञ्जन क्षेत्र, राजनीतिक क्षेत्रमा साथै संस्कृतिको संरक्षण गर्न, चुनाव प्रचार गर्न र व्यावसायिक प्रचार–प्रसारसम्ममा प्रयोग हुने एउटा सशक्त डिजिटल साधन बनेको छ ।
फेसबुक, ट्विटर (एक्स), युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमहरूले मानिसहरूलाई विश्वव्यापी सञ्जालमा बाँधिदिएका छन् । नेपालजस्तो विकासोन्मुख मुलुकमा पनि सामाजिक सञ्जालले जनजीवनलाई गहिरोरूपमा प्रभावित पारेको छ । यसले अवसर पनि दिएको छ र चुनौती पनि ल्याएको छ । त्यसैले सामाजिक सञ्जाल वास्तवमै सदुपयोग हो कि दुरुपयोग भन्ने प्रश्न आज धेरै महत्वपूर्ण बनेको छ । हामीकहाँ पनि साइबर ब्युरोमा परेको दिनदिनैका उजुरीले पनि सामाजिक सञ्जालमा कत्तिको दुरुपयोग समेत भइरहेको छ भन्ने कुराको उजागर गर्छ ।
सामाजिक सञ्जालको सदुपयोग
सामाजिक सञ्जालको सदुपयोग गर्न सकिएमा, हामीले संसारभरिको खबर एकछिनमै पाउन सक्छौँ, पहिलाजस्तो चिठ्ठीपत्रको जमाना अब रहँदैन, सामाजिक सञ्जालले गर्दा सामाजिक सम्बन्ध विस्तार पनि भएको छ, टाढाटाढा रहेका आफन्त र साथीभाइसँग पनि सम्पर्क राख्न सजिलो भएको छ । परदेशमा गएका नेपालीहरू सामाजिक सञ्जालमार्फत आफ्नो परिवारसँग निरन्तर सम्पर्कमा रहन सक्छन् । को कहाँ छ तुरुन्तै कुरा गर्न पाइने अवस्थाले गर्दा घर छोडेर बाहिर जाँदा पनि आफ्नै साथमा भएको जस्तो लाग्छ । संसारको कुरा एकै छिनमै थाहा हुन्छ, यसले गर्दा विद्यार्थीले पढ्न पाएका छन्, जसले गर्दा शिक्षा र ज्ञान प्राप्ति गर्न सजिलो भएको छ । विद्यार्थीहरूले पढाइमा आवश्यक सामग्री सजिलै खोज्न सक्छन् । आजकल त एआईको माध्यमले त झन् सजिलो बनाइदिएको छ । युट्युब, गुगल, शैक्षिक ब्लग तथा अनलाइन क्लासहरूले शिक्षालाई सहज, आकर्षक र किफायती बनाइदिएका छन् । कोरोनाजस्तो महामारीको बेला पनि अनलाइनमार्फत धेरै कुरा जानकारी विद्यार्थीहरूले पाएका थिए र पढ्न सजिलो भएको थियो ।
त्यस्तैगरी व्यवसायीले व्यवसाय गर्न पाएका छन्, खेतीपाती गर्नेले पनि नयाँ–नयाँ कुरा सामाजिक सञ्जालमार्फत पाई आफ्नो उत्पादन बढाएका छन् र जानकारी लिएका छन् । त्यसैले सामाजिक सञ्जाललाई विवेकपूर्ण ढङ्गले प्रयोग गर्न सकियो भने यसका फाइदाहरू असाधारणरूपमा पाउन सकिन्छ । यससँगै आर्थिक अवसर पनि उत्तिकै मात्रामा वृद्धि भइरहेको छ । टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत अनलाइन बिजनेसको वृद्धि भइरहेको छ, फ्रीलान्सिङको काममा वृद्धि भएको छ, डिजिटल मार्केटिङले गर्दा व्यापार बढेको छ र युवाले धेरै कुरा सिकेर रोजगार र आय आर्जन गर्ने अवसर समेत पाएका छन् ।
आजकलका मानिस सामाजिक सञ्जालले गर्दा सूचना प्रवाह भई सचेत नागरिक भएको अवस्था हुन्छ, जसले गर्दा सामाजिक परिवर्तन र ठगीमा पनि काम आएको देखिन्छ, मानव अधिकारका कुरा, बाल अधिकारका कुरा, महिला हिंसाका कुरा र सामाजिक कुरा फैलाउन माध्यम नै सामाजिक सञ्जाल हो किनकि सामाजिक मुद्दा, वातावरण संरक्षणजस्ता विषयमा समेत जनचेतना फैलाउन सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको छ । समाजमा जसरी सदुपयोग छ, त्यस्तैगरी सामाजिक सञ्जालको दुरुपयोग पनि उत्तिकै भएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग
हरेक कुरा सकारात्मक मात्र हुन्छ भन्ने हुँदैन । आजको युगमा सामाजिक सञ्जाल प्रयोग गरेर धेरै मानिस नियन्त्रणबाहिर पनि पुगेका छन् र परिवार तथा समाज र राष्ट्रको नियन्त्रणविनाको प्रयोगले नकारात्मक असर पनि ल्याएको छ । जसले, धेरै गृहिणीहरूको समय बर्बाद पनि भएको छ । सामाजिक सञ्जालमा अनावश्यक स्क्रोलिङ गर्ने, जे आउँछ त्यो सबै हेर्ने, जस्तो समाचार वा मनोरञ्जन पनि हेर्ने गर्दा ठूलोबाट साना बच्चाले नराम्रा कुरा सिकिरहेका छन् र कामकाज छोडी मनोरञ्जनमै घण्टौँ बिताउँदा घरको काम, पढाइ र शारीरिक विकास पनि कम हुने गर्छ । जसले बालबालिका तथा ठूला सबैलाई असर गर्ने गर्छ ।
बालबालिकाले त झन् मोबाइल हेर्न थालेपछि यदि नहेर्न भन्यो भने एकदमै रिसाउने, नखान्ने र जिद्दी गर्ने पनि गर्दछन्, जसको कारण मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पर्छ र शारीरिक स्वास्थ्य पनि एकदम बिग्रँदै गएको छ ।
कतिपय अवस्थामा व्यक्तिगत जानकारी अरूलाई थाहा हुने, आफैँले पोस्ट गरेको सामग्रीले अरूलाई जानकारी भई समाजमा दाह उत्पन्न हुने, त्यत्तिकै साइबर वार हुनेजस्ता कुरा पनि भएका छन् । आफ्ना कुराहरू चटचट खुल्नेजस्ता कुराले समाजलाई नै भड्ने कुरा पनि भएको छ । समाजमा कोही धनी हुन्छन्, कोही गरिब हुन्छन् तर आफ्नो औकात देखायो भनेर विभेद हुने र झगडा हुने पनि भइरहेको छ । प्रतिस्पर्धाका कारण घर–परिवारमा झगडा हुने, सामाजिक सञ्जालमा नक्कली समाचार, भ्रमपूर्ण जानकारी वा अफवाह फैलन सजिलो हुने कारणले पनि अनावश्यक तनावको सिर्जना भएको देखिन्छ ।
कसको कार्यक्रममा के गर्यो, कस्तो खायो, कसरी खायो र के गर्दैछ भन्ने कुरा जानकारी भई ठगी, चोरी हुने तथा अनावश्यक विवाद, तुलना र आत्मविश्वास घट्ने वा मानसिक दबाब बढ्ने अवस्था आएको छ र यही कारणले समाजमा त्रास, तनाव र द्वन्द्व समेत उत्पन्न भएको छ ।
नेपालमा युवावर्गले नै बढी मात्रामा सामाजिक सञ्जालको प्रयोग गरे पनि, आजकल त सबै उमेर समूहका मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् । धेरै मानिसहरूले युट्युब र फेसबुकमार्फत भिडियो बनाएर आफ्नै रोजगारी समेत सिर्जना गरी आफ्नो पेसा बनाएका छन् । उनीहरूका कारणले समाजमा कतिपय मानिसहरूको उद्धार पनि भएको छ भने उनीहरूले यसलाई शिक्षा, रोजगारी, व्यवसाय र मनोरञ्जन सबै क्षेत्रमा उपयोग पनि गरिरहेका छन् ।
तर, नियमन नहुँदा अनावश्यक सामग्रीको प्रस्तुति, आफैँ वकिल आफैँ न्यायाधीशझैँ भिडियो बनाउनाले समाजमा धेरै किसिमको समाचारले कतिको जीवन पनि बर्बाद पारिरहेको छ । अनावश्यकरूपमा झगडा निम्त्याउने पनि भएको छ । जसले अस्वस्थ प्रतिस्पर्धा र दुरुपयोग समेत अत्यधिक मात्रामा देखिएको छ । त्यस्तैगरी टिकटक र फेसबुकमा मनोरञ्जनका नाममा अश्लिलता, व्यक्तिगत मानहानी र विभिन्न किसिमका समाचारहरूले हिंसात्मक गतिविधि बढेको र धेरै मानिसहरूको समय बर्बाद भएको छ । यसले समाजको मूल्य–मान्यता र संस्कृतिलाई समेत प्रभावित पार्नुका साथै काममा बाधा हुने, रिस उठ्ने, पारिवारिक कलह हुनेजस्ता समस्या पनि बढेको छ ।
अब सामाजिक सञ्जाललाई दुरुपयोग होइन सदुपयोग गर्न आवश्यक भएको छ । सामाजिक सञ्जाललाई दुरुपयोगबाट बचाउन विभिन्न तहमा कदम चाल्न जरुरी छ । जसमा व्यक्तिगतदेखि राज्य स्तरबाटै सोच्नु पर्छ जसमा समय व्यवस्थापन गरेर मात्र प्रयोग गर्ने । आफूलाई चाहिने सामग्री मात्रै हेर्ने, पढाइ, काम वा जीवनमा सकारात्मक योगदान दिने सामग्री मात्रै खोज्ने, आफ्नो जानकारी अरूलाई सजिलै नदिने र धेरै नकारात्मक कुरा नहेर्ने । जसमा परिवारले पनि निगरानी गर्ने तथा बालबालिकाको इन्टरनेट प्रयोगमा समेत निगरानी राख्ने गर्नुपर्छ, त्यस्तै समाजमा नराम्रा कुरा हेर्न हुँदैन भन्ने सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्नुपर्छ ।
साथै सरकारी स्तरबाट पनि कदम चाल्ने, साइबर अपराध के हो जानकारी दिने, साइबर अपराध नियन्त्रणका लागि कडा कानुन लागू गर्ने, शैक्षिक र सूचनामूलक सामग्रीलाई बढीभन्दा बढी प्रवद्र्धन गर्ने र नागरिकलाई बढी जिम्मेवार बनाउने । कसैले गल्ती गरेमा तुरुन्तै कारबाही गर्नेजस्ता गतिविधि गर्नुपर्छ । साथै सामाजिक सञ्जाल कम्पनीलाई पनि बढीभन्दा बढी जिम्मेवार बनाउनको लागि कडा नियम बनाउने गर्न सकिएमा राम्रा कुराको प्रोत्साहन हुनेछ, विकृति हुने थिएन ।
निष्कर्ष
अन्त्यमा भन्नुपर्दा, सामाजिक सञ्जाल आजको मानिसको जीवनको एक हिस्सा नै भएको छ । यसको दुरुपयोग होइन, सदुपयोग गरौँ । त्यसैले यसलाई पूर्णरूपमा अस्वीकार गर्ने विकल्प खास देखिँदैन तर, यसले दिएको सुविधा र अवसरलाई दुरुपयोग कदापि गर्नु हुँदैन र यसको उचितरूपमा सदुपयोग गर्न सकियो भने समाजलाई प्रगतिशील बनाउन ठूलो मद्दत पुग्छ ।
नचाहिने काममा यसमा नलागौँ, यसबाट अवसर लिऊँ, नत्र यसले घर परिवार भत्काउँछ, व्यक्तिगत जीवनदेखि समाजसम्ममा गम्भीर समस्या निम्त्याउँछ । त्यसैले विवेकपूर्ण प्रयोग गरौँ, समय हेरेर प्रयोग गरौँ, अरुलाई यसबाट हानी हुने काम नगरौँ, गालीगलौजमा प्रयोग नगरौँ, सभ्य नागरिक बनौँ, सभ्य बनाउने उचित कुरा मात्रै हेरी सभ्य नागरिकको परिचय दिऊँ ।
यसैले, सामाजिक सञ्जाल आफैँमा कदापि नराम्रा कुरा हुँदैन— यसलाई जीवन उपयोगी हुने कुरामा प्रयोग गरौँ, न कि समय खेर फाल्न र अरुलाई धोका दिन ।