काठमाडौं । ओरियन्टल होटलले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर शून्य २६ को अनुपातमा हकप्रद सेयरको घोषणा गरेको हो ।
सञ्चालक समितिले गरेको यो घोषणाअनुसार कम्पनीको एक सय कित्ता सेयर हुनेले २६ कित्ता हकप्रद सेयरको लागि आवेदन दिन पाउनेछन् । कम्पनीले असोज ३१ गते २८औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभामा यो प्रस्ताव लैजाने भएको हो । यसपछि कम्पनीले धितोपत्र बोर्डबाट हकप्रद सेयर अनुमतिको लागि आवेदन दिनेछ । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि मात्रै कम्पनीले हकप्रद सेयर जारी गर्नेछ । हाल एक अर्ब १८ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ५० करोड रूपैयाँ पुग्नेछ । पछिल्लो समय प्रतिकित्ता सात सय ९१ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भइरहेको छ ।