काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएका क्षतिको बीमादाबी छिटो गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणले असहज परिस्थितिका कारण भएको क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न बिहीबार निर्देशन दिएको हो ।
निर्देशनअनुसार सबै निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बीमा दाबी यथासम्भव छिटो र सहज ढङ्गले फछ्र्यौट गर्नुपर्नेछ । प्राधिकरणले बीमितको धन सम्पत्तिमा भएको क्षतिको विवरण साप्ताहिक रूपमा पेस गर्न पनि भनेको छ ।
‘देशका विभिन्न स्थानमा २३ गतेदेखि उत्पन्न असहज परिस्थितिले सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको सर्वविदितै छ। यस विषम परिस्थितिमा बीमितको धन सम्पत्तिमा भएको क्षति तथा उत्पन्न असहजतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सकेसम्म छिटो र सहज तरिकाले समाधान गर्नू’, निर्देशनमा उल्लेख छ ।
क्षति भएका बीमा दाबीको विवरण प्रत्येक हप्ताको बुधबार अनिवार्य रूपमा प्राधिकरणलाई बुझाउनुपर्ने उल्लेख छ । प्राधिकरणले विषम परिस्थितिका कारण बीमितहरूलाई राहत प्रदान गर्न कम्पनीहरूलाई सक्रिय भूमिका खेल्न पनि प्राधिकरणले आग्रह गरेको छ ।