काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरी दमनबाट मृत्यु हुने प्रदर्शनकारीको संख्या ३६ पुगेको छ । काठमाडौं उपत्यका र बाहिर गरी गरी कुल ३६ जनाले ज्यान गुमाएका हुन् ।
२३ गते शान्तिपूर्ण सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेपछि भाँडिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २५ जनाको मृत्यु भएको छ । त्यसैगरी उपत्यकाबाहिर ११ जनाको मृत्यु भएको मन्त्रालयको अपडेट छ ।
बिहीबारसम्मको अपडेटअनुसार कुल घाइतेको संख्या १ हजार ७ सय ६० छ । अस्पतालमा ३ सय २२ जनाको उपचार भइरहेको छ भने ७२ जनालाई रिफर गरिएको छ । अस्पतालबाट १ हजार ३ सय ३० जना डिस्चार्ज समेत भएको मन्त्रालयले उल्लेख गरेको छ ।
देशैभर चर्किएको प्रदर्शनका घाइतेको ५८ वटा अस्पतालमा उपचार जारी रहेको छ । जसमध्ये सबैभन्दा बढी घाइते सिभिल सर्भिस अस्पताल काठमाडौंमा छन् । सिभिलमा मात्रै ४ सय ५२ जनाको उपचार भएको छ ।