जब विभिन्न अभियोगमा कारागारमा रहेकाहरु भाग्ने र भगाउने काम एउटा अभियानकै रुपमा चल्न थाल्यो । त्यसपछि जिल्लादेखि सर्वोच्चसम्मका अदालतहरुमा आगो लाग्न थाल्यो । नख्खु कारागारबाट एक जना नेतालाई छुटाइयो वा भगाइयो, त्यसको केही समयमा नै महान्यायाधिवक्ताको कार्यालयदेखि सर्वोच्च र जिल्ला अदालतमा आगो लाग्न थाले । घटना विवरणहरुले यही बताउँछन् । यी ठाउँ भनेका उनीहरुलाई कारागार पठाउन जे–जस्ता अभियोग लागेका थिए तिनका प्रमाण रहने ठाउँ वा निकाय हुन् । अघिल्लो दिन आन्दोलनरत यो जनरेसनमाथि जस्तो निर्ममताका साथ आक्रमण भयो, त्यसबाट समाज शोकग्रस्त थियो । खासगरी आन्दोलनकारीहरु सडकमा भन्दा मृतक र घाइतेका वरपर देखिन्थे । यही क्रममा धमाधम बन्दीहरु भाग्न वा भगाइन थाले र त्यसको केही समयपछि सरकारी अड्डा अदालतमा आगजनीको क्रंम बढ्योे । यता जेलाबाट भाग्ने र भगाइनेको संख्या बढ्न थाल्यो उता लुटपाट पनि बढ्यो । भगाइएकाहरुको संख्या यसरी बढ्यो मानौँ यो आन्दोलनको आह्वान उनीहरुबाटै भएको होस् । तर यो सत्य थिएन । बन्दीहरुले मौकाको फाइदा मात्रै उठाए । नत्र फलानालाई रिहा गर भन्ने नारा कतै पनि र कसैले पनि लगाएका थिएनन् ।
आन्दोलनको भोलिपल्ट अपराह्नदेखि प्रारम्भ भएको जेलबाट भाग्ने भगाउने काम सबैभन्दा लामो समय कायम रहेको देखिन्छ । एक नेता बन्दी रहेको जेलाबाट सर्वप्रथम उनै निस्किएर प्रारम्भ भएको यो अभियान अहिले देशव्यापी भएको छ । गएको मंगलबार दिउँसो काठमाडौंलगायत धेरै ठाउँमा ‘जेन–जी’ युवाको आन्दोलन चलिरहँदा ललितपुरको नक्खुस्थित कारागारबाहिर जम्मा भएको एउटा जत्थाले ती नेतालाई रिहा गराएको थियो । त्यसपछि यो कारागार त खाली भयो नै त्यो देशभरि फैलिएर अहिलेसम्म १४ हजार तीन सयभन्दा धेरै कैदीबन्दी फरार भएका र तीमध्ये १२ हजार आठ सयभन्दा धेरै अझै बेपत्ता नै छन् । नेपाल प्रहरीका प्रवक्ताका भनाइमा पनि विभिन्न ठाउँका कारागारबाट साढे १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् भने प्रहरी हिरासतमा रहेका छ सय ६० थुनुवा पनि भागेका छन् । कतिपय ठाउँमा त फलाना नेता रिहा भए भने हामीचाहिँ किन बन्दी भइरहने भनेर जेल तोडे । त्यसपछि उनीहरुको नेतृत्वमा अरु जेल तोडिँदै गइयो ।
समाचार विवरणमा आएअनुसार नक्खु कारागारबाट नेता यसरी बाहिर–बाहिर निस्कनुभन्दा अघिसम्म देशभरका कारागारको अवस्था सामान्य नै थियो । कैदीबन्दीहरू शान्तपूर्वक बसिरहेकै थिए । जब नख्खु कारागारबाट बन्दी बाहिरिने क्रम देखियो जसले देशभरि नै सन्देश गयो । कैदीबन्दीले नै कारागारलाई नियन्त्रणमा लिन थाले । यस्ता घटना कारागार प्रशासनको नियन्त्रणभन्दा बाहिर जान थाल्यो । यसरी भाग्नेमा वा भगाइएकामा विभिन्न कसुरमा कैद सजाय काटिरहेका र पुर्पक्षका लागि थुनामा रहेकाहरु छन् । त्यसमा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका बन्दीहरुलाई नख्खु कारागारबाट भागेर आएका कैदीबन्दीले नै भगाएका थिए, जो एकैपटक तीन हजार दुई सय कैदीबन्दी भाग्न सफल भए ।
उल्लेखितरुपबाट बन्दीहरु भागे—भगाइएपछि देशैभरि आगजनी र डकैतीजस्ता घटना बढेको देखियो । त्यसकारण यस्ता घटनाको छानबिन गर्दा जेल तोड्ने र बन्दीलाई भाग्ने वातावरण बनाउन संगठितरुपमा नै नेतृत्व प्रदान गरिएको अवस्था कसाबट सिर्जना गरियो भन्ने पहिचान आवश्यक मानिएको हो । नयाँ पिँढीको घोषित आन्दोलनभन्दा यो आतंक समाजका लागि भयावह बनेको तर्फ ध्यान जान माग भएको हो ।