नक्खु कारागार प्रशासनले जेन जी आन्दोलनको मौका छोपेर कारागार परिसरबाट फरार भएका कैदीबन्दीलाई थुनामा फर्कन सूचना जारी गरेको छ। कारागारमा अधिकारीले उक्त सूचना कारागारको पत्रसहित बाहिरिएको दाबी गरेका रवि लामिछानेका हकमा पनि लागु हुने बताएका छन्। उक्त कारागारबाट एकै दिन करिब १,३०० जना कैदीबन्दी बाहिरिएका थिए। “भाद्र २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू ९थुनुवा र कैदी० लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपीलमार्फत् हार्दिक अनुरोध गर्दछौँ,” कारागारको सूचनामा भनिएको छ। कारागारबाट बाहिरिएका कतिपय कैदीबन्दी अहिले सम्पर्कमा आइसकेको अधिकारीहरूले बताएका छन्। कारागार नफर्किए थप सजाय हुन सक्ने र कारागार प्रशासनले दिन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत असर पर्न सक्ने चेतावनी सूचनामा दिइएको छ। “विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई यसै सूचनामार्फत् औपचारिक रूपमा अपील गरिन्छ,” सूचनामा भनिएको छ। सम्पर्क हुन नआउने बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम सजाय हुने चेतावनी सूचनामा दिइएको छ।(बीबीसी)