काठमाडौं । जेन–जी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन्। जाहेरीमा प्रदर्शनका क्रममा गोली चलाउन आदेश ओलीले नै दिएको दाबी गरिएको छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ।मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ। शाहले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्।