भाद्र २४ गते हरेक वर्ष नेपाली कांग्रेसका सभापतिले बीपी ‘जन्मजयन्ती’का अवसरमा देशभरिका आफ्ना केन्द्रीय सदस्य, महासमिति–महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र साधारण सदस्यलाई ‘बीपी विचार’का कार्यक्रम गर्न निर्देशन र भाषण हुने परम्परा थियो । विसं १९७१ भदौ २४ गते भारतको वनारस (काशी)मा बीपीको जन्म भएको थियो । काशी विश्वनाथको काखमा जन्मेका कारण पिता कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाले आपसी सहमतिले विश्वनाथको प्रसादको रुपमा विश्वेश्वरप्रसाद नाम राख्नुभएको थियो । होइन भने उहाँको नाम चुडाप्रसाद थियो । यो कुरो मैले स्वयम् बीपीकी आमा दिव्या कोइरालाको मुखबाटै सुन्ने अवसर पाएको थिएँ । त्यो कसरी अलिकति विवरण (आफ्नै चिनारी) ल्याएर यस वर्ष (विसं २०८२) ‘बीपी जयन्ती’का अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हालत कस्तो देखियो ? कारण र परिणाममा आउँछु ।
विसं २०२८ साल अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेविसंघ) वनारस शाखाको युनियन निर्वाचनमा समाजसेवा सचिवमा विजयी भएर सारनाथ बीपी निवास पुग्दा पहिलो जम्काभेट आमा दिव्यासँग नै हुन्थ्यो । मलाई अहिले पनि ताजै सम्झना छ । त्यस दिन राजा महेन्द्रको मृत्यु (हत्या) भएको दिन रहेछ । ‘बीपी कता हुनुहुन्छ’ आमासँग प्रश्न गर्दा बीपी हुनुभएको कोठा देखाउँदै ‘ऊ त्यहाँ झोक्राएर बसिरहेको छ’ जवाफ दिनुभएको थियो । दिव्या कोइराला एक बहादुर नारी हुुनुहुन्थ्यो । बीपी राणा सत्ताको हिरासतमा परेर २५ दिन बढी अनशन बसेको भएर मर्न लाग्दा (विसं २००६ साल) श्री ३ मोहन शमशेरले दिव्यालाई भन्दा कि ‘माफी माग्न लगाएर छोरो बचाऊ’ उहाँले जवाफ दिनुभएको थियो– ‘जुन आर्यघाटमा लोग्ने (कृष्णप्रसाद कोइराला)को दाहसंस्कार गरेकी थिएँ, त्यहीँ छोराको पनि दाहसंस्कार गर्छु, तर माफी माग भन्दिनँ ।’ यस्ति दिव्या कोइराला हामीहरूजस्ता कलिला युवा अहिलेको भाषामा ‘जेन–जी’ पुस्ता (त्यस बखत मेरो उमेर १७ वर्ष थियो) बीपीलाई भेट्न सारनाथ पुग्दा दिव्याजी मीठा–मीठा कुरा गरेर स्नेह र आशीर्वाद दिनुहुन्थ्यो । त्यस्तै मीठा–मीठा कुराका सन्दर्भमा बीपीको न्वारानको नाम ‘चुडाप्रसाद’ रहेको काशीको प्रसादको रूपमा ‘विश्वेश्वरप्रसाद’ राखेको उहाँकै मुखबाट सुन्ने अवसर पाएको हुँ । सारनाथ बीपी निवासमा गणेशमानजी पुग्नुभएको बखतमा घरको मुलढोका भन्दा बाहिरपट्टी ठूलो हलजस्तो कोठा उहाँका लागि छुट्याइन्थ्यो । बैठक कक्ष र शयन कक्ष दुवै त्यही कोठा हुन्थ्यो । गणेशमानजी सारनाथ आइपुग्नुभएको थाहा पाएपछि हामी प्रदीप गिरी, पाल्पाका लक्ष्मण खनाल, विराटनगरका अच्यूत रिजाल आदि इत्यादि ५/७ जना हुल बाँधेर गणेशमानजीलाई भेट्न पुग्दथ्यौँ । त्यसबखत बीपी र गणेशमान आपसमा विचार विमर्श गरिरहनुभएको हुन्थ्यो । हामीहरू पुगेपछि सासु (दिव्या) बुहारी (सुशीला, बीपीकी धर्मपत्नी)ले मिलेर बनाएको चिया (कहिलेकाहीँ कफी) सुशील कोइराला (कालक्रममा कांग्रेस सभापति, नेपाल सरकारका प्रधानमन्त्री)ले गिलास बोकेर ‘सर्भ’ गर्दथे । यस्तैमा एक पटकको घटना हो, प्रदीप गिरीलगायत हामी केही युवा (अहिलेका जेन–जीजस्तै) पुस्ताहरू चियाको चुस्की लिँदै बीपी र गणेशमानजीका विचार सुनिरहेका थियौँ, अचानक मूलगेटमा मनोहरी बराल लगायतका ५/७ जनाको हुल बोकेर थोत्रो थोत्रो जीपमा गिरिजाप्रसाद कोइराला आइपुगे । गिरिजालाई देख्नेबित्तिकै बीपीले हामीलाई सुनाउनुभयो — ‘ऊ गिरिजा आइपुग्यो । किन आएको हो, त्यो पनि उसलाई थाहा छैन । कति दिन यहाँ बस्ने हो, त्यो पनि उसलाई थाहा छैन, र यहाँबाट कहाँ जाने हो, त्यो पनि उसलाई थाहा छैन ।’ त्यसयताका गिरिजाले बम बोकाएर राजकाज मुद्दा धारा ४ दफा २ फाँसी या जन्मकैद हुने सजाय पाएर ०३६ सालको एम्नेष्टि (आम माफी) पछि छ वर्ष जेल काटेर बाहिर आइसकेपछि बीपीले आफ्ना आमसभाहरूमा सँगै मञ्चमा राखेर भाषण गर्न सिकाउनुभएका, ०४२ सालको सत्याग्रहमा फेरि जेल पुगेर ०४६ सालको आन्दोलनसम्म गणेशमानजी र कृष्णप्रसाद भट्टराईको लाइनमा संघर्षरत रहेर बहुदल आएपछि गिरिजा प्रधानमन्त्री भएर डा. रामशरण महतको ‘बीपीको समाजवाद थोत्रो भइसक्यो’ भन्ने बहुराष्ट्रिय कम्पनी (इष्टइण्डियाको ठाउँमा अक्षरंश बहुर्राष्ट्रिय कम्पनी)को लहैलहैमा लागेर राजा महेन्द्रले खडा गरेका सारा उद्योग कारखाना (भृकुटी कागज कारखानाबाट उत्पादित कागजले जापानले आफ्नो नोट छाप्दथ्यो) कौडीको मूल्यमा बेच्न थालेपछि ‘यो त बीपी विचारअनुसार भएन’ भन्दा गिरिजाका गुण्डाहरूबाट लखेटिने कुटिने गरिएको तमाम आफ्ना चिनारी अध्यायहरू यस्ता स्तम्भमा अटाउने कुरा भएन । भाद्र २४ बीपी जयन्तीको सन्दर्भ परेर मात्र आफ्नो लेखकीय कर्म धर्मअनुसार यति कुरा ल्याउनै परेको हो । र जेन–जीपुस्ता एक्सनमा आउनुअघि नेपालको राज्यसत्तालाई ११ हजार गुण्डाहरूले पूर्णरूपमा क्याप्चर गरेका एक वैदेशिक सर्वेको रिपोर्ट हो ।
अब आऔँ नेपाली कांग्रेसका झण्डै पाँच हजार महाधिवेशन प्रतिनिधिबाट दुई पटक निर्वाचित सभापति भएका शेरबहादुर देउवा दम्पति (नेपाल सरकारकी परराष्ट्र मन्त्री आर्जु राणा) आफ्नै घरको आँगनमा घिसारिएर लछार पछार हुँदै रगताम्य पारेर मरणासन्न हुनेगरी कुटिएका हालतको कारणबारे । यहाँ सवाल एउटा राष्ट्रघाती जनघाती तस्कर, माफिया बिचौलियाको कामदार भरिया बनेको व्यक्ति शेरबहादुर देउवाको होइन । मुख्य सवाल बीपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, सिके प्रसाईँ, महेन्द्रनारायण निधी या भनौँ हामीहरूजस्ता सयकडौँ सिद्धान्तनिष्ट कांग्रेसीहरूको ‘लिगेसी’ बोकेको नेपाली कांग्रेस पार्टी सभापतिको हो । जुन पार्टीले ०७ साल र ०४६ सालको परिवर्तनको नेतृत्व गरेको थियो, जुन लिगेसी नै पतन र समाप्त भएको हालतको हो । नेपालको राजनीतिक इतिहासका लागि मात्र होइन नेपालजस्ता सारा विश्वका देशहरूका लागि पतन र समाप्तिको एउटा उदाहरण पाठ्यक्रम बनेको छ । नेपालको इतिहासका लागि विशेष पाठ्यक्रम बनेको चाहिँ बीपी जन्मजयन्तीकै दिन परेकाले हो ।
देउवा पतनको सुरुवात त्यस दिनबाट भएको हो जुन दिन राजा विरेन्द्रले ‘महाकाली सन्धिमा हस्ताक्षर नगर, त्यो राष्ट्रघाति छ’ भन्दाभन्दै दिल्ली पुगेर हस्ताक्षर गरेका थिए र त्यसै हस्ताक्षरको परिणाममा नेपालको भूमि लिपुलेक, लिपिया, धुरा, कालापानी भारतको नक्साभित्र पुग्यो । र समाप्तिको सुरुवातचाहिँ त्यस दिनबाट प्रारम्भ भयो जुन दिन नेपाली कांग्रेसको सभापतिको हैसियतले चितवनको चुनावी आमसभामा उभिएर कांग्रेसको चुनाव चिह्न ‘रुख’मा भोट नदिनु भन्दै माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’मा भोट (मत) मागे । त्यसैदिनबाट कांग्रेस केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आठ लाख भनिएका क्रियाशील सदस्यहरू देउवाका कमारा कमारीमा रूपान्तरण भए । त्यसैको परिणाम देउवाहरूले पिटाइ खाँदा गगनहरूले पनि पिटाइ खानु परेको हो ।
आर्यघाटमा गिरिजाप्रसाद कोइरालाको दाहसंस्कार भइरहँदा मलाई पत्रकारहरूले प्रश्न गरेका थिए– ‘अब कांग्रेसको भविष्य के होला ?’ त्यसमा मैले के भनेको थिएँ भने– ‘हेर्नुहोस्, मानिस मरेपछि लिखाहरू लाससँगै खरानी हुन्छन् भने जुम्राहरू ज्यान जोगाएर बाँचेका हुन्छन्, त्यसको तथ्यांक प्रस्ट नहुँदासम्म म केही भन्न सक्ने अवस्थामा छैन ।’ पञ्चायतकालमा रामचन्द्र पौडेलले तनहुँबाट कागतीको अमिलो बोकेर अशनमा बेचेर आफ्नो राजनीति धानिरहेका छन् भन्दा लेख्दा मेरो आशय प्रजातन्त्रमा एउटा गरिब मान्छे पनि नेता बन्न सक्छ भन्ने थियो । तर मेरो त्यस्तो भनाइ र लेखाइमा ‘त्यो बाहुनको मैले के खाइदिएको छु?’ भन्दै रिसाए । अहिले प्राडा सुरेन्द्र केसीले सामाजिक सञ्जालमा अन्तरवार्ता दिँदै जानकारी गराएका– ‘रामचन्द्र पौडेलका छोराको लण्डनमा चारवटा घर छन् ।’ पाठकहरू कतिलाई थाहा छैन जुम्राको मृत्यु अघाएको थाहा नपाएर भुँडी फुटेर हुने गर्छ । देउवापत्नी आरजु देउवालाई कुकुरनीका अगाडि उभ्याएर ‘लु भन तँ र यो कुकुरनीमा के फरक छ’ भनेर प्रश्न गर्दा ‘केही फरक छैन, उसको पनि सास छ, मेरो पनि सास छ । सास गयो भने ऊ पनि मर्छे, म पनि मर्छु’ भन्ने उत्तर दिएकी हामी सबैले देख्यौँ, सुन्यौँ । आफ्नी आमाको यस्तो हालत देख्दा पढाइ सकिएको एक वर्षभित्रमा एक अर्बको जग्गा जमिन र हिलटन होटल जोड्ने जयवीर देउवाको मनस्थिति कस्तो भयो होला सहजै अनुमान लगाउन सकिन्छ । देउवा र गोपाल खड्काको घर जोडिएर रहेकोमा खड्काको घरबाट १६ बोरा डलर र देउवा दरबारको चारवटा कोठा नोटैनोटले भरिएका (प्रचण्ड र ओलीको घरमा पनि यस्तै) भेटिए । अघाएको थाहा नपाएर भुँडी फुटेर जुम्रा मर्नेजस्तै । यसमा आम सर्वसाधारण जनता (११ हजार गुण्डाहरूबाट ठगिएका ७५ लाख सहकारीका बचतकर्ता)को प्रतिक्रिया ‘पाप धुरीबाट कराउँछ भनिएको साँचो रहेछ र पशुपतिनाथ सक्रिय हुनुहुँदो रहेछ’ भन्ने पाइएको छ ।
यसमा ओली देउवा प्रचण्डहरूले ‘जेन–जी’ पुस्ताबारे आकलन गर्न नसकेका आफ्नै एउटा अनुभव यहाँ पाठ्यक्रम अभिलेख गर्न चाहन्छु । राजनीतिशास्त्रका धुरन्धर ज्ञाता मानिनुहुने बीपी, ऋषिकेश शाह, प्रदीप गिरी आदि इत्यादिका लेख, अन्तरवार्ताहरूमा पटक–पटक इटालीका एन्टोनियो ग्राम्सीको नाम उल्लेख हुनेगरेको पाउँदा मलाई पनि ग्राम्सीका बारेको सम्पूर्ण अध्ययन थाहा पाउने जिज्ञासा भयो । थाहा लाग्यो खासगरी बुद्धिजीवी वर्गको परिभाषाबारे उहाँको अध्ययन निष्कर्ष लेनिन र रोजा लग्जेम्बर्गभन्दा पनि उच्चकोटीको रहेछ । विश्वकुख्यात तानाशाह बेनिटो मुसोलिनीको सैनिक जर्नेलले ‘यो मानिसलाई खुला छोडिदियो भने हाम्रो सत्ता छिट्टै ढल्छ’ भन्ने सल्लाह दिएछ र मुसोलिनीले २० वर्ष जेलमा सडाएर रिहा गरिएको सात दिनभित्रै मृत्यु भएको रहेछ । इटालीको मिलान पुगेका बखत ग्रम्सीलाई २० वर्ष राखेको जेल हेर्न उत्सुकता भएर मैले पनि अवलोकन गरेको थिएँ । तर ग्राम्सीको यो सम्पूर्ण जीवनी र विचारधारा बुझ्न मलाई १० वर्ष बेलायती, अमेरिकन, भारतीय पुस्तकालयका धुलो टकटक्याउनु परेको थियो । तर आजका ‘जेन–जी’ पुस्तालाई ग्राम्सीका बारे जानकारी पाउन उत्सुकता जाग्यो भने इन्टरनेटमा गएर गुगलमा एउटा बटन थिच्दा न्वारानदेखिका सारा जीवनी र विचारधारा १० मिनेटमा सबै छर्लङ्ग हुन्छ । यहाँनेरी मैले भन्न खोजेको प्रचण्ड, ओली, देउवाहरूले १० वर्ष लगाएर गरेका सबै भ्रष्टाचार, घोटालाका कुकर्म यो पुस्ताले १० मिनेटमा सबै प्रमाणसहित भण्डाफोर गरिदिन्छन् । नेपालमा पछिल्लो नवजागरण उठेको भनेको यही हो । यसबाट आशालाग्दो खुशीको कुरा के भएको छ भने अहिलेसम्म राजनीतिबाट निरपेक्ष रहेको यो पुस्ता अब सरोकार राख्न थालेको छ । लुटतन्त्र आगामी दिनका राजनीतिमा सम्भव हुने छैन ।
अन्त्यमा ‘जेन–जी’ पुस्ताको नवजागरण आन्दोलनबाट उठेका मागहरूलाई समाधानतर्फ उन्मुख हुन परम्परागत ढङ्गको पूर्वप्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा पुगेका पात्र अगाडि सारियो भने त्योभन्दा घातक धोका र बेइमानी अर्को केही हुने छैन । किनभने ‘महाकाली सन्धि’ यता र खासगरी गणतन्त्रकालमा कांग्रेस, एमाले, माओवादी स्वार्थ गठबन्धन (ठगबन्धन) बेगर कोही पनि संवैधानिक पदमा पुगेका छैनन् । यो सयमा सय प्रतिशत प्रमाणित सत्य हो । जुन संविधानले मुलुकलाई पछिल्लो अवस्थामा पु¥यायो त्यही संविधान जोगाउनुपर्छ भन्दै स्यालहुइयाँ मच्चाउनेहरू ठूलो राष्ट्रघात र जनघात गर्दैछन् । यी पंक्ति लेखिरहेका समयसम्म अहिलेका जेन–जी पुस्ताले धोका पाएका प्रस्ट सङ्केत मिलिसकेको छ, तथापि केही छैन, पशुपतिनाथ साक्षी हुँदै हुनुहुन्छ । भोलिको ‘जेन–अल्फा’ पुस्तालाई गतिलो पाठ भएको छ । अस्तु ।