काठमाडौं । जेन–जी समूहको नाममा प्रदर्शन, तोडफोड र आगजनी भएको एक साता भए पनि काठमाडौंको अवस्थामा सुधार आउन सकेको छैन । सडकका दायाँबायाँ जलेका गाडी तथा मोटसाइकल त्यतिकै मिल्काइएको छ भने कुनै पनि प्रहरी कार्यालय पुनःस्थापना भएको छैन । प्रहरी मात्र होइन यातायात व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीको चरम अभाव देखिएको छ । त्यही भएर कार्यालय समय सुरु हुनु अगाडि र सकिएपछि काठमाडौंका चोकहरुमा ट्राफिक जामले अस्तव्यस्तता थपेको छ । सडकमा फाट्टफुट्ट मात्रामा ट्राफिक प्रहरी खटिएका छन् ।
शुक्रबारदेखि तोडफोड र आगजनीका नयाँ घटना नभए पनि प्रदर्शन र कुटपिट तथा लुटपाटका घटना भने भइरहेको छ । पछिल्ला दिनहरुमा जेन–जी भन्नेहरुबीच नै कुटपिट भइरहेको छ भने विभिन्न ठाउँमा चोरी बढेको छ । स्थानीयहरुले नै चोरी नियन्त्रणको अभियान चलाएका छन् । सवारीसाधन एक आपसमा ठोक्किँदा पनि त्यसको कारबाही गर्न ट्राफिक प्रहरीको अभाव देखिएको छ ।
काठमाडौं उपत्यकाकै जेलबाट भागेका हजारौँ कैदीबन्दी फिर्ता भएका छैनन् । प्रहरी कार्यालयबाट लुटिएका हतियार आइतबार रातिसम्म पनि सबै फिर्ता भएको छैन । यसले समाजमा थप आतंक सिर्जना भएको छ । आन्दोलनमा व्यक्तिका सम्पत्तिमा आगजनी र लुटपाट गर्नेहरुको फोटो र भिडियो सार्वजनिक भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । जेलबाट भागेका अपराधीहरु र हतियार लुटेराहरुको कारण समाजमा चोरीका घटनामा वृद्धि भएको छ । राष्ट्रपति कार्यालयले समेत आफ्नो कार्यालयबाट चोरी भएका सामान फिर्ता ल्याउन आइतबार विज्ञप्ति प्रकाशित गरेको छ । तर, कसैले पनि ती सामान फिर्ता ल्याएका छैनन् । भिडियो फुटेजहरुमा चोरी गर्ने र आगजनी गर्नेहरुको अनुहार भने पहिचान भएका छन् । तर, प्रहरीकै अभावमा उनीहरु पक्राउ पर्न सकेका छैनन् ।
नेकपा एमालेकै दुईजना पूर्वमन्त्रीहरु गोकुल बास्कोटा र महेश बस्नेतले आफ्नो घरमा आगजनी गर्नेहरुका भिडियो र फोटो सार्वजनिक गरेका छन् । सरकारी कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयमा आगजनी गर्नेहरुको पनि भिडियो सार्वजनिक भएका छन् तर उनीहरु कारबाही भोग्नुको सट्टा थप हौसिएर हिँडेका छन् ।
राजधानीलाई अस्तव्यस्त अवस्थाबाट जोगाउन सरकार नबनेको भने होइन । आन्दोलनको कारण शुक्रबार सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री भएर सोही राति सपथ लिएर आइतबार कार्यभार सम्हालिसकेकी छिन् । तर, कसैले पनि सुरक्षाको प्रत्याभूति गर्न पाएका छैनन् । जुनसुकै बेला कुटपिट र लुटपाट हुने देखिएको छ । पछिल्ला दिनहरुमा त जेन–जीहरुबीच नै कुटपिट भइरहेको छ । प्रधानमन्त्री कसलाई बनाउने भनेर नेपाली सेनाको मुख्यालय अगाडि भेला भएको बेलामा मात्र होइन सरकार बनेपछि आन्दोलनको उपलब्धिको बारेमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दा पनि जेन–जी हौँ भन्नेहरुबीच नै कुटपिट र हात हालाहाल भएको छ ।
मुख्यालयबाहेक उपत्यकाको कतै पनि प्रहरीहरु कार्यालयमा बस्न सकेका छैनन् । ट्राफिक प्रहरीको अभावका कारण काठमाडौंमा जामले सास्ती थपेको छ भने सडक, कार्यालय र मन्त्रालयहरुमा जलाइएको गाडीहरुको अस्तिपञ्जर जतात्यतै देख्न सकिन्छ । कतिपय चोकमा जलेका गाडी तथा मोटरसाइकललाई एउटै थुप्रो बनाएर राखिएको छ भने सिंहदरबारको दक्षिण गेट अगाडिलगायतका ठाउँमा जलेका गाडी हटाइएको छैन । यसले राजधानीको अवस्था कुरुप पारेको छ । प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए पनि प्रहरीले आफ्नै सुरक्षा गर्न सकेको छैन । प्रहरीले सुरक्षित बस्ने बास नै पाएका छैनन् ।
कतिपय व्यावसायिक प्रतिष्ठानमा लागेको आगो सूक्ष्म तरिकाले निभाउने काम नै भएको छैन । सरकारी कार्यालय निजी व्यवसायमाथि लागेको आगो बाहिरीरुपमा निभे पनि कतिपय ठाउँमा धुँवा पनि आइरहेको छ । चाबहिलको चुच्चेपाटीमा रहेको भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न पसेका छ जनाको शब नै शनिबार राति फेला परेको छ । भाटभटेनीमा चोरी गर्न गएकाहरु पोलिएर मरेको आशंका छ । किनकि, भाटभटेनीले कुनै बल नै प्रयोग गर्न दिएको छैन भने आगो लागेपछि पनि उसले छाडिदिएको कारण त्यहाँ जल्नेहरुको जिम्मेवारी आन्दोलनकारी र प्रहरी प्रशासनले लिनुपर्ने देखिन्छ । जेन–जीहरुको आन्दोलनमा कसैले सम्पत्ति लुटेको नभए पनि २४ गतेको आन्दोलनमा उपस्थित अधिकांशले व्यापारिक प्रतिष्ठानबाट केही न केही चोरी भएका छन् ।
भदौ २३ भएको प्रदर्शनमा प्रहरीले दमन गरेर काठमाडौं मात्र १७ जना मारेपछि २४ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन, तोडफोड र आगलागीको भएका थिए । चोरी गर्ने कसैको विद्यालयको जागिर भएको छ भने काभ्रेमा आगो लगाएको पुष्टि भएपछि दुईजना नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी नै छाड्नु परेको छ ।