काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्व लक्षित सुकिला नोटको सटही सुरु गरेको छ । राष्ट्र बैंकको पूर्वनिर्धारित सूचनाअनुसार यही भदौ २९ गते आइतबारबाट सुकिला नोटको सटही कार्य सुरु गरिएको हो । यही असोज १० गतेसम्म नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने सकिने छ । अधिकांश वाणिज्य बैंकहरूले पनि सुकिला नोट सटही सुविधा दिइरहेको छ ।
यसपालि पनि यसअघिझँै एकपटकमा प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट सटहीको सुविधा दिइएको राष्ट्र बैंकका प्रवक्ता एवम् कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । ‘यसपटक पनि एकपटकमा प्रतिव्यक्रि ५, १०, २०, ५० र एक सय रुपैयाँ अंकित दरको एक बन्डल नोट सटही गरिदिने छौँ’, प्रवक्ता पण्डितले भने, ‘गत वर्षको चाडपर्वको समयमा झण्डै छ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बाहिरिएको थियो, अहिले मुलुकको अवस्था केही असहज भए पनि छदेखि सात अर्ब रुपैयाँको हाराहारीमा सुकिला नोट सटही हुने अपेक्षा गरेका छौँ ।’