जेन–जीको पछिल्लो आन्दोलन भनौँ अथवा विद्रोह, यसले नेपालका युवाहरू आजको युगमा सबैभन्दा महत्वपूर्ण जनशक्तिका रूपमा स्थापित भएको देखाएको छ । देशको कुल जनसंख्याको झण्डै ४० प्रतिशत हिस्सा १६ देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाहरूले ओगटेका छन् । तर नेपालको राजनीतिक दलहरूले यि सबैलाई आफ्नो स्वार्थसिद्धीको लागि हतियार बनाउँदै आएका थिए ।
सत्ता र शक्तिमा पुग्नको लागि युवाहरूलाई हतियार बनाउने गरेका थिए । सत्तामा पुगेपछि खोलो तर्यो लौरो बिस्र्यो भनेजस्तै गरी युवाहरूको इच्छा, आकांक्षा, आवश्यकता, स्वतन्त्रता सबैलाई तिलाञ्जली दिने गरेका थिए । यही कारण जेनजीले पछिल्लो पटक विद्रोह गरे । आखिर जेनजीले किन विद्रोह गरे अर्थात् राज्यबाट जेनजीले के चाहन्थ्यो, राज्यले के दिएन र विद्रोह हुन पुग्यो । यसका धेरै पाटाहरू रहेका छन् ।
सबैभन्दा पहिला नेपाली युवाहरूको प्रमुख चाहना भनेको उपयुक्त रोजगारी हो । उच्च शिक्षामा स्नातक र स्नातकोत्तर स्तरसम्म पुगेर पनि बेरोजगार बस्नुपर्ने अवस्थाले युवाहरूलाई निराश बनाएको छ । देशमै अवसर नपाएर लाखौँ युवा विदेशिन बाध्य भएका छन् । कोही खाडी मुलुक जान्छन्, कोही युरोप र कोही अष्ट्रेलिया । उनीहरूलाई देशमै श्रमको सम्मानसहित रोजगारी चाहिएको छ । शिक्षा युवाको भविष्यको आधार हो । नेपालमा शिक्षाको पहुँच त विस्तार भएको छ, तर गुणस्तरमा अझै प्रश्न छन् । अधिकांश शिक्षालयहरू पुस्तकीय ज्ञानमा सीमित छन्, व्यावहारिक सीप र उद्यमशीलता विकासमा कम ध्यान दिन्छन् । युवाहरू व्यावसायिक, प्रविधिमैत्री, नवीन सोचसँग मेल खाने शिक्षाको माग गरिरहेका छन् ।
अर्कोतर्फ नेपालमा युवाहरूको उद्यमशीलताको प्रोत्साहन हुनसकेको छैन । अहिलेका धेरै युवा जागिर खोज्नेभन्दा पनि आफ्नै व्यवसाय गर्ने सोचमा छन् । तर बैंकिङ प्रणाली, सरकारी नीति तथा लगानीको पहुँचले उनीहरूलाई अवरोध बनाएको छ । युवाहरू चाहन्छन । सरल ऋण सुविधा, तालिम र व्यवसाय सुरु गर्न अनुकूल वातावरण । स्टार्टअप संस्कृति नेपालमा फैलिन थालेको छ, तर अझै ठोस समर्थन आवश्यक छ । युवाहरू अब राजनीतिक परिवर्तनको उपभोक्ता मात्र होइन, निर्माता बन्न चाहन्छन् । तर वर्तमान राजनीतिक प्रणालीमा उनीहरूको सहभागिता सीमित छ । युवापुस्ता पारदर्शिता, जवाफदेहिता र नतिजामूलक नेतृत्वको खोजीमा छन् । उनीहरू अब विकास, समृद्धि र स्थायित्व चाहन्छन् । आश्वासन मात्र होइन, कार्यान्वयन हेर्न चाहन्छन् ।
सामाजिक समानता र अभिव्यक्तिको स्वतन्त्रता युवाहरूको अर्को चाहाना हो । नेपालका युवा जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय विभेदविरुद्ध छन्। उनीहरू समावेशी समाजको परिकल्पना गर्छन्, जहाँ सबैको आवाज बराबरी सुनिन्छ । साथै, उनीहरूलाई आफ्नो विचार खुलारूपमा राख्न पाउने स्वतन्त्रता पनि आवश्यक छ—चाहे त्यो सामाजिक सञ्जाल होस् या सडक । नेपालको विकास यात्रामा युवापुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर विडम्बना के छ भने—देशको सबैभन्दा ऊर्जावान्, सिर्जनशील र परिवर्तनकारी जनसंख्या समूह ‘युवा’ स्वयं अन्योल, निराशा र अस्थिरताको सिकार बनिरहेको छ । ‘युवाहरू के चाहन्छन् ?’ भन्ने प्रश्न केवल सांकेतिक होइन, नीतिगत तहमा गम्भीररूपमा बुझिनु आवश्यक छ रहेको छ । आजका युवाहरू केवल जागिर खोजिरहेका छैनन्, उनीहरू आर्थिक आत्मनिर्भरता चाहिरहेका छन् । सीप भएका हजारौँ युवाहरू विदेशिन बाध्य छन् किनभने देशमा श्रमको उचित मूल्य छैन । सरकारी, गैरसरकारी, निजी क्षेत्रबाट निस्कने ‘आवसर’हरू पहुँचवालाको कब्जामा छन् ।
नेपाली युवापुस्ता विद्रोही होइन, सिर्जनशील छ । उनीहरू क्रान्तिको होइन, सकारात्मक परिवर्तनको साझेदार बन्न चाहन्छन् । उनीहरूमा क्षमता छ, जोस छ, तर त्यसलाई प्रयोग गर्ने प्लेटफर्म छैन । राज्य, समाज र नीति निर्माताले यदि यी युवाहरूको आवाज सुनेनन् भने, उनीहरू अवसर खोज्न बाध्य हुनेछन्– चाहे त्यो देशबाहिर होस् या विद्रोहमा । आजको आवश्यकता यही हो । ‘युवालाई सुन्ने होइन, बुझ्ने समय आएको छ । उनीहरूलाई अवसर दिने होइन, जिम्मेवारी सुम्पिने बेला हो ।’ नेपाली युवाहरू अब पनि ’पर्ख र हेर’को अवस्थामा बस्न चाहँदैनन् । उनीहरू अब परिवर्तनको वाहक बन्न चाहन्छन् । उनीहरू सिर्जनशील छन्, ऊर्जा छ उनीहरूसँग, तर त्यस्तो वातावरण चाहिन्छ जसले उनीहरूको क्षमतालाई देशभित्रै उपयोग गर्न सकोस् ।