प्रधानमन्त्री सुशीला कार्की सामान्य अवस्थाकी कार्यकारी प्रमुख होइनन् । उनका सामु चुनैती यति धेरै छन् कि उनले त्यसलाई पर्गेल्न सकिनन् भने धेरै ठूलो अनर्थ हुन्छ । जेन–जीको यो आन्दोलनमा जेन–जीकै धेरै ठूलो संख्याको हताहती भएको छ अङ्गभङ्ग भएकाहरूको संख्या पनि सामान्य छैन । अझै हताहतीको संख्या बढेमा आश्चर्य मान्नुपर्ने स्थिति छैन । उनीहरू गम्भीर उपचारमा छन् जो चिकित्सकले नै जे पनि हुन सक्तछ भनिरहेका छन् । यसपछि आउँछ भौतिक क्षतिको । यो पनि एकप्रकारले अपूरणीय नै छ । यो क्षतिमा सरकारी मात्र होइन निजी क्षेत्र बढी पीडित भएको छ । धेरै ठैलो संख्यामा उद्योग प्रतिष्ठान ध्वस्त भएका छन् भने निजी आवासहरू पनि ठूलो मात्रामा खण्डहरमा परिणत भएका छन् । यसले पीडित परिवारमा त्यसबेलादेखि चलाएको रुवाबासी थामिएको छैन । कतिपय मानिसहरू विक्षप्त अवस्थामा पुगिसकेका छन् । कतिपयले त आफ्नो पीडा सुनाउन पनि पाएको अवस्था छैन । भर्खर मात्रै मानिसका आउजाउ र भेटघाट सुरु भएको छ ।
यस्तो बेला नियुक्त भएकी प्रधानमन्त्रीको भूमिका सामान्य तहको छैन । उनले मानसिक र भौतिकरूपमा मानिसहरूको विश्वास फिर्ता गराउन सक्नुपर्छ । यतिबेला समाज विखण्डित अवस्थामा पनि छ । जस्तो यी सबै आगजनीजस्ता घटनाहरू सुनियोजित हुन् कि भन्ने फोटोसहित प्रकट भएका घटनाहरूले देखाउँदै छन् । त्यस्तो बेला प्रधानमन्त्रीको सम्बोधन सन्देशदायक हुन पथ्र्यो । तर पद ग्रहणपछि प्रधानमन्त्रीले गरेको सम्बोधनमा भने त्यस्तो सन्देश देखिएन । सम्बोधनको अंश–‘व्यक्तिको सम्पत्तिहरूको, व्यापारीहरूको, उद्योगीहरूको सम्पत्ति पनि डढाउने, मास्ने र नष्ट गर्ने कामहरू भएको छ । तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभियौँ भन्न भएन, किनभने व्यक्तिगत सम्पत्तिको क्षति भएर कतिपय व्यापारीहरू उठ्न नसक्ने अवस्थामा पुगेका छन्, त्यसमा पनि राज्य विचार गर्छ, हामीले विचार गर्नुपर्छ । उनीहरूलाई कसरी उठाउने, कुन सहयोग दिने बैंकको सफ्ट लोनहरूबाट हुन्छ कि केही अन्य गरेर हुन्छ कि । स–साना व्यापारीहरू व्यापारीहरू पनि लुटिएका छन् । त्यस्तो परिस्थिति भएको हुनाले केही गर्नुपर्छ । आतङ्कजस्तो जलाएर खरानी बनाउने काम गरियो त्यसको बाबजुद पनि ‘म उठ्छु’ भन्ने जुन किसिमको अठोट गर्नुभएको छ, त्यसको लागि शुभकामना छ र धन्यवाद छ । राज्यको तर्फबाट उहाँहरूलाई सल्लाह चाहिने हो कि कुन किसिमबाट सहयोग गर्ने हो त्यो हामी विचार गर्नेछौँ ।
धेरैलाई प्रधानमन्त्रीको यो सम्बोधनमा कठोर दण्डको पनि चर्चा होला भन्ने थियो । यो आन्दोलनमा आन्दोलनकारीले कतै पनि नराखेको जेल तोडेर कैदी बन्दी रिहा गर्ने काम पनि भयो । आन्दोलनकारी अहिले पनि भनिरहेका छन्, यो आफ्नो माग होइन । तर जेल तोड्ने काम कति नियोजित र कति आपराधिक थियो भने कुनै एउटा दलले हुलदंगा गर्दै आफ्ना नेतालाई जेलबाट छुटायो र घर ल्यायो । त्यसको नक्कल गरेर देशभरि नै जेल तोड्ने अभियान चल्यो । जब यसरी जेल तोड्न थालियो र थुनामा रहेका हजारौँ व्यक्ति बाहिर आए त्यसपछि सरकारी भवन र निजी घरहरू जताततै जलाउन थालिए । अहिलेसम्मका अध्ययनले के देखाएको छ भने, धेरैजसो आगलागी जेल तोडिएपछि भएका छन् । यसमा एउटा राजनीतिक दल नै आबद्ध भएको भनेर शंका प्रकट गर्न थालिएका छन् । घटना विवरणले पनि यस्तै कुरा बताइरहेका छन् । यो ठाउँमा यस्तो अपराधजन्य काम गर्ने वा योजना बनाउने जो–कोहीलाई पनि नछाड्ने भनेर प्रधामन्त्रीले भनेको पाइएन । त्यसकारण पनि प्रधानमन्त्रीको यो पहिलो सम्बोधन सन्देशविहीन बन्न गएको भनिएको हुनुपर्छ । प्रधानमन्त्री नै अपराध कर्मका बारेमा मौन रहेको अवस्था आउँछ भने त्यो कदापि सह्य हुनु हुँदैन ।