काठमाडौं । जेन–जी आन्दोलनका क्रमका भएको तोडफोड र आगजनीबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा ठूलो क्षति पुगेको छ । भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रशासनमा आगजनी गरिएको थियो । आगजनीबाट तीनवटा भवनमा क्षति पुगेको छ भने प्रशासनको पुरानो भवन जलेर ध्वस्त भएको छ ।
कार्यालयमा क्षति पुगेपछि नागरिकता बनाउनेलगायतका महत्वपूर्ण कामहरू रोकिएका थिए । तर, सहयोगी संघ संस्थाहरूले आवश्यक सामग्री उपलब्ध गराएपछि अहिले प्रशासनले सेवा सुरु गरेको छ । यस क्रममा ई–सेवा धनगढी शाखाले अटोमेटिक स्क्यानर मेसिन उपलब्ध गराएको छ । ‘स्क्यानर मेसिन नहुँदा काम प्रभावित भइरहेको थियो । ई–सेवाले उक्त मेसिन उपलब्ध गराएपछि सेवा प्रवाहमा सहज भएको छ ’ सूचना अधिकारी शिवराज जोशीले भने ‘सहयोगीहरूको साथले हामीले सेवा सुरु गरेका छौँ ।’
ई–सेवा धनगढीका प्रमुख महेन्द्र शाहीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अटोमेटिक स्क्यानर उपलब्ध गराएको जानकारी दिए । प्रमुख शाहीले सूचना अधिकारी जोशीलाई मेसिन हस्तान्तरण गरेका थिए । ई–सेवाजस्तै यहाँका विद्यालय र व्यवसायीहरूले पनि आवश्यक सामग्रीहरू जिल्ला प्रशासनलाई उपलब्ध गराएका छन् ।
अहिलेसम्म एरिष्टो, एक्सिस र ग्यालेक्सी बोर्डिङ स्कुलले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् । नास्ट, एसपीए कलेज, एडुपल, प्रहरी पब्लिक व्याडमेन्टिन क्लब, आलोक फर्निचर, कम्प्युटर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सलगायतले पनि प्रशासनलाई सामग्री उपलब्ध गराएका छन् ।
सहयोगी संस्थाहरूले दिएको सामग्रीहरूले प्रशासनको सेवा प्रवाहमा ठूलो सहजता पैदा गरेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।