काठमाडौं । जेनजी आन्दोलन लगत्तै भएको सत्ता परिवर्तनको नकारात्मक असर शेयर बजारमा देखिएको छ । जेनजी आन्दोलनका कारण यही भदौ २४ गतेदेखि बन्द रहेको नेप्सेको नियमित कारोबार कक्ष असोज दुई गते अर्थात आज बिहिबारबाट खुलेको थियो । तर कारोबार खुलेको केही समयमा नै छ प्रतिशतले नेप्से घटेपछि निर्धारित समय भन्दा झण्डै तीन घण्टा अघि नैं नेप्सेको नियमित कारोबार कक्ष पुरै दिनको लागि बन्द भएको छ ।
नियमित कारोबार खुलेको दुई मिनेट २२ सेकेन्डमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । सो पश्चात ११ बजेर २२ मिनेट २२ सेकेन्डमा बजार खुलेको थियो । तर सो लगत्तै अर्थात ११ बजेर २३ मिनेट २५ सेकेन्डमा नै थप एक प्रतिशत शेयर बजार ओरालो लागेपछि पुन दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो । दोस्रो सर्किट ब्रेक पश्चात पनि नेप्सेको ओरालो यात्रा निरन्तर कायम रह्यो । दोस्रो सर्किट ब्रेक पश्चात १२ बजे खुलेको नेप्से तीन मिनेट २५ सेकेन्ड मात्र के खुलेको थियो १२ बजेर छ मिनेट नौं सेकेन्टमा पुन छ प्रतिशतले ओरालो लाग्यो । सो पश्चात आज बिहिबार पुरै दिनको लागि शेयर बजार बजार बन्द हुन पुग्यो । सो अनुसार शेयर बजार परिसुचक नेप्से आज आज एक सय ६० दशमलव ३३ प्रतिशतले ओरालो लागेर २५ सय ११ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २६ दशमलव शुन्य आठ प्रतिशतले ओरालो लागेर चार सय ३६ दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ३८ वटा कम्पनीहरुको सात हजार चार सय ३५ पटकको कारोबारमा १७ लाख ५२ हजार सात सय ८१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ७२ करोड ८७ लाख दुई हजार आठ सय ३० रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा यसदिन १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।