मैले जननायक बीपी कोइरालाका कान्छा छोरा शशांक कोइरालालाई दिएको ‘नेता बन्ने सल्लाह’ नमानेर ‘घुस्याहा नेता’ चिनारीमा आइपुगे भन्ने पाठ्यक्रमबाट प्रारम्भ भएको यो साप्ताहिक स्तम्भ (एक असार आइतबारबाट नियमित) नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा पदच्यूत परराष्ट्रमन्त्री आरजु राणाको हालत र चिनारीमा नपुग्न सल्लाह दिने चरणमा आइपुगेको छु । वनारस (काशी) सारनाथ बीपी निवासमा भीमबहादुर तामाङले शशांकलाई औँला समाएर स्कुल लाने–ल्याउने गरेका बखत म बीपीको सशस्त्र क्रान्तिमा आबद्ध भएर गंगा किनारको बालुवाको थुप्रोमा सहिद यज्ञबहादुर थापा गोपाल राईबाट बम बन्दुक पड्काउन प्रशिक्षित भइरहेको नाताले शशांकलाई सल्लाह दिने पात्रता राख्दथेँ भने त्यही कालखण्डदेखि नै सुशीला कार्कीलाई पनि राम्रोसँग चिन्दछु, जान्दछु ।
कांग्रेस इतिहासका दृष्टिले शेरबहादुर देउवा रामचन्द्र पौडेलभन्दा अग्रणी नरबहादुर कार्कीकी श्रीमती मिना दाहाल, कांग्रेस इतिहासमा बौद्धिक नेताको छवि बनाएर स्वर्गे हुनुभएका प्रदिप गिरीकी बहिनी मन्जुला गिरी र गिरिजाप्रसाद कोइरालाको ‘आत्म वृतान्त’ पुस्तकमा आएको वर्णनअनुसार भारतीय सेनाको खुफिया संस्था ‘रअ’को सहयोगमा २८ जेठ २०३० सालको कांग्रेस इतिहासको बहुचर्चित विमान अपहरण काण्डका एक नायक दुर्गा सुवेदीकी श्रीमती सुशीला कार्की त्यतिखेरका यी तीन चेली वनारस हिन्दु विश्वविद्यालय (विएचयू)का ‘विकनी यार’ सहपाठी थिए । बीपीद्वारा फन्डिङ दिलबहादुर घर्ती मेष इन्चार्ज रहेको प्रदिपजी हामीहरूको गंगा किनारको ब्रम्हाघाटमा बसोबास हुन्थ्यो । प्रदिपजी त साकाहारी हुनुहुन्थ्यो । नरबहादुर कार्की हामीहरू मांसाहारी भए पनि मेष इन्चार्ज रहेको दिलबहादुर घर्तीले बङ्गुर (सुँगुर)को मासु (काशीमा जहीँतहीँ माछामासु पसल हुँदैन । दालमण्डी (रेडलाइट एरिया) पुग्नु पर्दछ) खुवाएर हैरान पार्दा (ब्राह्मण भएकाले दिगमिग हुन्थ्यो) बीपीलाई भनेर घर्तीलाई हकार्न लगाएको पनि थिएँ । त्यसबखत अक्सर सँगसँगै हिड्ने हाम्रा (कांग्रेस) होनहार छात्रा नेतृ यी तीनवटी ‘वकनी यार’ (मिना, मञ्जु, सुशीला)सँग अक्सर बीपी निवास सारनाथ या हाम्रो निवास ब्रह्माघाटमा जम्काभेट भइरहन्थ्यो । जेलबाट छुटेपछि धरान पुग्दा सुशीला निवास पुगेर भलाकुसारी गरेको स्मृति पनि अझै मेरो स्मृतिमा ताजै छ । यही पात्रताको नाताले अहिले प्रथम महिला प्रधानमन्त्रीमा नियुक्ति पाएको खुसी लागेर नै सल्लाह दिन यति विवरण ल्याएको हुँ । उमेरका हिसाबले एक वर्ष कान्छो छु । राजनीतिक हिसाबले मेरो इतिहास ‘जेन–जी’ पुस्ता या त्यसपछि आउने ‘जेन अल्फा’ पुस्ताले अवश्य हिसाब राख्नेछन् भन्ने विश्वास लिएको छु । र ०७२ को संविधान खारेज गर्न अग्रसर हुन सल्लाह दिन्छु ।
संसारभरिका विश्वविद्यालयका राजनीतिशास्त्रका पाठ्यक्रममा इटलीका एन्तोनियो ग्राम्शीको ‘बुद्धिजिवी वर्गको परिमाषा’ विषयक अध्याय अनिवार्य पढाइ हुने गर्छ । जुन ‘परिभाषा’लाई लेनिन र रोजा लग्जेमवर्गको भन्दा पनि उच्चकोटीको मानिन्छ । ‘विरोधी (यथास्थिति)का बलियो ठाउँमा हिर्काउन आफ्ना (परिवर्तन) कमजोर पक्ष लुकाएर सफलता पाउन सकिन्न’ ग्राम्शीको निचोड ठहर हो । यसै ठहरको जगमा टेकेर सफलताको कामना गर्दै ५५ वर्षअघिदेखिकी परिचित प्रधानमन्त्री कार्कीलाई सल्लाह दिन अग्रसर भएको हुँ । सल्लाह भन्नेबित्तिकै मान्नै पर्छ भन्ने हुन्न ।
७३ जना (यी पंक्ति लेखिरहेका बखतको तथ्यांक) जेन–जी (छोरानाती) पुस्ताको रगतको आहालमा डुबुल्की (स्नान) मारेर प्रधानमन्त्रीको शपथ खान पुगेगी सुशीला कार्कीको पहिलो खुड्किलो भनेको प्रथम महिला प्रधानन्यायाधीशको चिनारी नै हो । संसद्वादी–माओवादी १२बुँदे दिल्ली समझौताको जगमा आएको ०७२को संविधानअन्तर्गत प्रधानन्यायाधीश पदमा पुग्न कांग्रेस, एमाले, माओवादी तीन पार्टीमध्ये कुनै दुई पर्टीको सहमति (भागवण्डा) बेगर सम्भव थिएन भन्ने तथ्य जेन–जी पुस्ताले पाठ्यक्रम नभेटेका भए पनि राष्ट्रिय राजनीतिका अन्य सम्पूर्ण पक्षमा सबै छर्लङ्ग छँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवा (प्रदिप गिरी) र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) (दुर्गा सुवेदी)को भागवण्डा लेनदेन भएर प्रधानन्यायाधीशमा नियुक्ति सम्भव भएको लुकेको कुरा छैन । त्यही भागवण्डा लेनदेनको अवगाल १२ बजे राति कांग्रेसका रमेश लेखक र माओवादीका वर्षमान पुनसँग षड्यन्त्रपूर्ण बैठक गरेर ४०÷४०का भाग ८० जना न्यायाधीशहरूलाई नियम र प्रक्रिया मिचेर नियुक्ति गरिएको भन्ने अभियोगमा ‘सत्य र न्याय खोजी अभियान’का वरिष्ठ वकिल डा. ध्रुवलाल श्रेष्ठले सर्वोच्चमा हालेका मुद्दा र सुडान घोटाला (कृष्ण बास्तोला) केस अहिलेलाई ओझेलमा परे पनि सधैँ ओझेल (जेन–अल्फा)मा पर्ने कुरा भएन । कालक्रममा देउवाले आईजीपी नियुक्ति गर्दा उनको गोदाम (चारकोठा)मा आइपुग्ने घुसमा कुरो नमिल्दा महा अभियोगमा परेर पूर्वप्रधानन्यायाधीश हुनु परेको जेन–जी पुस्ताले गुगलमा गएर सर्च गर्नासाथ सबै छर्लङ्ग भइहाल्छ । यही तथ्यको जगबाट सुदन गुरुङको साष्टाङ दण्डवत दृष्टा सार्वजनिक भएको भन्ने पनि सामाजिक सन्जालमा भाइरल अद्यवधिक भइरहेकै छ ।
देश बेचेर (महाकाली सन्धबाट लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्साभित्र) मानिस बेचेर (भुटानी शरणार्थी काण्डदेखि भिजिटभिसासम्म), ७५ लाख ग्रामीण भेगका जनताले पेट काटेर बचत गरेका सहकारीका चार खर्ब बढी लुटेर उखु किसान, दुध किसान, मिटरब्याजी, लघुवित्तपीडितलाई रुवाएर, जन्मदै नेपाली जनताको टाउकोमा ३१ खर्व बढी ऋण बोकाएर राष्ट्रिय अर्थतन्त्र ८३ प्रतिशत बढी गाँस, बास, कपासका लागि पनि पर निर्भरतामा पुर्याएका देखेर भोगेर पछिल्ला दिनहरूमा ‘अब यिनीहरू (देउला, ओली, प्रचण्ड आदि इत्यादि)ले नेपाली जनताको छाला काढेर सुकाएर बेच्न मात्र बाँकी छ’ भन्दै सामाजिक सञ्जालमा नवजागरण अभियानमा देखा परेकी (प्रधानन्यायाधीशबाट लखेटिएपछि) सुशीला कार्कीका माथि उल्लिखित अवगालहरू तुलनामा सामान्य हुन् । ग्राम्शीको परिभाषाअनुसार यस्ता कुरा लुकाएर होइन, देखाएर नै अघि बढ्नुपर्छ ।
विसं २०८२ साल भदौ २४ गते जननायक बीपी कोइरालाको जन्मजयन्तीका दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवाको वीभत्स हालत सामाजिक सञ्जालमार्फत विश्वव्यापी भाइरल भयो । अमेरिका, चीन, भारत, रुस, बेलायतलगायत नेपालसँग दौत्य सम्बन्ध रहेका संसारका सारा मुलुकहरूको कान ठाडा भए । ‘सत्य र न्याय खोजी’ अभियानका अन्तर्राष्ट्रियस्तरमै सुपरिचित अगुवा वरिष्ठ वकिल डा. ध्रुवलाल श्रेष्ठबाट ‘किर्ते हस्ताक्षर’मा मुद्दा खेपिरहेका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रायोजितरुपमा ‘संसद् विघटन’को प्रस्ताव राखियो । जब कि मुलुकलाई पतन र भडखालोमा पुर्याउन क्षेत्रीय, जातीय, धार्मिक द्वन्द्व मच्चाएर नेपाल सिध्याउने षड्यन्त्र तहत जारी भएको ०७२को संविधान खारिज भएर ०४६ को कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकार गठन भएजस्तो गरी अगाडि बढ्नु पर्दथ्यो । जेन–जी पुस्ताले यस्तो राजनीतिक निकाशाको पाठ्यक्रम पर्गेल्न समय नपाएका भए पनि उनीहरूलगायत ८० प्रतिशतभन्दा बढी जनताको भावना र चाहना यही थियो । देउवा, ओली, प्रचण्डका ११ हजार गुण्डा नाइकेहरूबाट राज्यसत्ता पूर्णरुपमा क्याप्चर भएको पृष्ठभूमिमा (गिरिजा प्रधानमन्त्री हुँदा जागिरे राजनीतिक सल्लाहकार रहेका १२ भाइ मिडियाका चर्चित (भाइरल) राजनीतिक विश्लेषक पुरन्जन आचार्यले एक अन्तर्राष्ट्रिय सर्वेको हवाला दिँदै सार्वजनिक गरेका तथ्यांक) तिनीहरूले राजधानीलगायत मुलुकका प्रमुख शहरहरूमा आकस्मिक वितण्डा मच्चाइरहेकामा शान्ति–सुरक्षाको दबाबमा परेर सेना पनि प्रायोजित संसद् विघटन र छ महिनाभित्र चुनाव गराउने प्रस्तावमा सहमति जनाउन बाध्य भयो । जेन–जी आन्दोलनका प्रायोजित अगुवा सुदन गुरुङ (स्वयं उनीबाटै आफू अगुवा नभएर पानी बाँड्न मात्र पुगेको स्वीकार र असली अगुवा मिराज ढुंगानालगायतका रहेका प्रमाणित)बाट प्रस्ताव भएर प्रधानमन्त्रीमा नियुक्ति । यसमा एकथरी सय दुई सय भीसी राजदूतका दाबेदार प्राडा या मानव अधिकारकर्मी कति छन् तिनीहरू ०७२को संविधान कसैगरी पनि जोगाउनुपर्छ भनेर सामाजिक सञ्जालमा रोइलो या स्याल हुइयाँ मच्च्याइरहेका छन् मात्र डलर खेतीमा कुलो सुक्ने डरले भन्ने प्रस्ट बुझ्नु पर्छ ।
गणतन्त्रकालमा वर्षैपिच्छे प्रधानमन्त्री फेरिने क्रममा आजसम्म कहिल्यै पनि चासो नराखेका तिब्बत स्वतन्त्र आन्दोलनका नायक दलाइ लामाले मात्र छ महिनाका लागि प्रधानमन्त्री भएकी सुशीला कार्कीलाई हतार–हतार हस्याङफस्याङ गर्दै बधाइ सन्देश पठाउन किन आतुरता प्रदर्शन गरे ? दलाइ लामाको यसखालको अनपेक्षित आकस्मिक चलखेलको अन्तर्य बुझ्न भरत दाहालजस्ता विज्ञ विश्लेषकका पाठ्यक्रम फलो गर्न जेन–जी पुस्तालाई सल्लाह छ । दुर्गा सुवेदीका लगौटीया यार बाबुराम भट्टराईका छायाँ रामेश्वर खनाल अर्थमन्त्रीमा छनौटको मूल्यवत्ता सायद बाबुराम पत्नी हिसिला यामीले मात्रै राम्रो प्रस्टाउन सक्लिन् । जहाँसम्म मैले जानेबुझेअनुसार दुध बेचेर कोकोकोला उपभोग गर्न सिकाउने डा. रामशरण महतका अनुयायी अर्थशास्त्री हुन् ।
आफू विगत ५३ वर्षदेखि एकक्षण र एक निवेश पनि यताउती नभई गिरिजा उताको कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र समाजवादका लागि अहोरात्र संघर्षरत भएका नाताले छक्क परेको विषयचाहिँ कांग्रेसका स्वघोषित ठूलो नेता शेखर कोइराला (गिरिजा नोना लिगेसी)को पछिल्लो वक्तव्यलाई लिएर छ । देउवा दम्पतीमाथि भएको कुटपिटको विषयलाई लिएर शेखर कोइरालाको घोर आपत्ति र भत्र्सनाको वक्तव्य आयो । आन्दोलनमा नेतामाथि घिसारपसार कुटपिट कालोमोसो जुत्ताको माला हुनु स्वाभाविक प्रतिक्रिया हो । गणतन्त्र ल्याउने आन्दोलनमा गिरिजा कोइरालाको टाउकोमा लाठी बजारिएर रगत बगेको शेखरलाई थाहा नभएको होइन । भारतमा इन्दिरा गान्धीको इमरजेन्सी विरोधको आन्दोलनमा बीपीका पनि नेता (त्यसकालखण्डका सबै कांग्रेसीलाई थाहा छ) जयप्रकाश नारायणमाथि पनि लाठी बजारिएर रगत बगेको थियो । देउवा दम्पती पिटिएकामा भत्र्सना वक्तव्य जारी गर्दा उनका घरका चार कोठाबाट अनुमानित सात अर्ब कालोधन भेटिएको विषयमा चाहिँ एक शब्द धारणा वक्तव्यमा नआउनु छक्क पर्नुजस्तो भएको हो । के नेपाली जनताको रगत र पसिनाबाट आर्जित राष्ट्रिय ढुकुटीमा डाका डालेर अकुद कालोधन थुपार्नु कांग्रेस सभापतिको मूल राजनीति हो ? यो प्रश्नको ‘जेन–जी’ र ‘जेन–अल्फा’ पुस्ताले अवश्य उत्तर खोज्ने निश्चित छ ।
अन्त्यमा देश, जनता र प्रणालीले खोजेको ०७२ को संविधान खेरेजीलाई ओझेलमा पारेर सुशीला हिँड्न खोजिन् भने नेपाल रहँदासम्म आरजुको भन्दा कलंकित चिनारी बन्ने पक्का छ ।