हालै जेनेरेसन जेड (जेन–जी)को आन्दोलनका क्रममा दुई दिन जनु घटना घट्यो, कसैले कल्पना गरेका थिएन होला । तर जेन–जीको नाममा जुन घटना घट्यो, त्यो साह्रै दुःखदायी घटना घटेको थियो । के भनिन्छ भने, जेन–जी युवाहरूको मकसद खासमा त्यस्तो थिएन । जे होस्, जेन–जीआन्दोलनको मूल जरोचाहिँ तत्कालीन प्रधानमन्त्री केपी ओली हुन् । किनभने केपी ओलीले बेला छँदै जेन–जीको मागप्रति सकारात्मक हुनु, सकारात्मक ढंगले जेन–जीको आन्दोलनलाई निप्टारा लगाउनेतर्फ कदम चाल्नुको सट्टा जेन–जीको आन्दोलनलाई कम आँक्दै अन्टसन्ट भाषण गरे । होला, विदेशीले हामी नेपालीलाई हेप्यो । सन्दर्भ हो, फेसबुकको मूल कम्पनी मेटाले नेपालमा संस्थागत भ्रष्टाचार छ, त्यसैले म भ्रष्टाचार हुने देशमा दर्ता हुँदिनँ भनेको भन्ने सन्दर्भ । जुन सन्दर्भलाई ओलीले र उनको कोटरीले राष्ट्रवादको आवरण दिन खोजे । जब कि कुन देशले नेपाललाई नहेपेको होस् ? अरु त अरु भुटानले समेत हेप्छ, हेपेको छ, शरणार्थी मामिलामा भने अमेरिका र अमेरिकाको मेटा कम्पनी, उसले किन नहेपोस् र ! फेरि नेपालमा भ्रष्टाचार नै नभएको कहाँ हो र ? सामान्य ढंगले हेर्दा देशको प्रधानमन्त्री रहेका ओलीले एक विदेशी कम्पनीसँग प्रतिशोध लिने धृष्टताले नेपालका पहिलो पुस्ताका प्रायः नेताहरू घानमा परे ।
त्यसरी देशको प्रधानमन्त्री रहेका ओलीले एक विदेशी कम्पनीसँग आफू र आफ्नो देशलाई हेपेको ठानेर प्रतिशोध लिने धृष्टता गर्दा सबैभन्दा ठूलो घानमा परे, नेपाली कांग्रेसका हालका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जो नेपालमा पाँच–पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् भने छैटौँ पटक प्रधानमन्त्री हुने आशामा ढुक्कसँग बसेका थिए । तर, उनी आन्दोलनकारीको घानमा नराम्रोसँग परे, मार खाए । केवल शेरबहादुरले मात्रै मात्र खाएनन्, उनका धर्मपत्नी तथा ओली सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवाले पनि नराम्रोसँग मार खाइन् । सबैभन्दा ठूलो आश्चार्यचाहिँ के देखियो भने, आन्दोलनकारीको अराजक भीडले शेरबहादुर देउवाको घरबाट करोडौं (सम्भवतः अरबौँ) नेपाली रुपैयाँ र विदेशी मुद्रा (अमेरिकी डलर) निक्लिुलाई मान्नुपर्ने हुन्छ । तर अचम्म सो कुरोलाई नेपाली मिडिया र नेपाली मिडियामा कार्यरत पत्रकारहरूले चाहिँ अहिलेसम्म अनदेखा गरिरहेको छ, शिवाय केही युट्युबरबाहेक ।
संयोग कस्तो भने, जुन दिन जेन–जीको आन्दोलनका क्रममा एकै दिन जना यवा तथा वयश्कहरूको मृत्यु भयो, त्यसको भोलिपल्ट आन्दोलन भड्केर उग्र रुप लियो । आन्दोलन भड्केर उग्र रुप लिएको दिन थियो, भदौ २४ अर्थात् नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताले मान्ने गरेको ‘महामानव’ बीपी कोइरालाको जन्म दिन वा भनौँ जन्म–जयन्ती । हो यो वर्ष पनि भदौ २४ गते बीपी कोराइरालाको ११२औँ बीपी जन्म–जयन्ती मनाइँदै थियो । तर, बीपी कोराइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । जब विसं १९७४मा भीम शमशेर राणा नेपालका श्री ३ महाराज भए, भीम शमशेर राणाले आफू प्रधानमन्त्री हुनेबित्तिकै कृष्णप्रसाद कोइरालालाई आममाफी दिए । त्यसपछि कृष्णप्रसाद कोरइराला र उहाँका अन्य परिवारहरू पुनः नेपाल आई बस्न थाल्नुभयो ।
बीपी संस्थापक रहेको नेपाली कांग्रेस पार्टीले बीपी कोइरालाको सिद्धान्त, आदर्श, विचार, नीति र कार्यक्रमअनुसार आफू सरकारमा जाँदा वा भनौँ नेपाली कांग्रेसको सरकार बन्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आफू प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री एवं सहायक मन्त्री हुँदा के–कति कामहरू ग¥यो ? त्यसको फेहरिस्त पेस गर्ने काम त नेपाली कांग्रेसले पार्टीले विगतमा गरेकै होला र भविष्यमा पनि गर्दै जाला । त्यो काम नेपाली कांग्रेस पार्टीको निजी मामिला भयो । हुन त नेपाली कांग्रेसले बीपीको आदर्शलाई सदैव लागू गर्या छ त ? यो प्रश्न धेरै गम्भीर रहेको छ । जे–जस्तो भए पनि नेपालमा लगभग १०४ वर्षदेखि जरा गाडेर बसेको राणा शासन त्यति सजिलै ढल्नेवाला थिएन । त्यो विषम परिस्थितिमा पनि बीपीले दुई कांग्रेसलाई एक गरे । हुन पनि नेपालमा लगभग १०४ वर्षदेखि जरा गाडेर बसेको राणा शासन ढाल्न त्यति सजिलो थिएन । त्यसैले ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ एक हुनुको विकल्प थिएन । नभन्दै विसं २००६ चैत १४ गते तदनुसार सन् १९५० मार्च २६ का दिन राष्ट्रिय कांग्रेस’का अध्यक्ष बीपी कोराइराला एवं ‘नेपाल प्रजातन्त्र कांग्रेस’का अध्यक्ष महेन्द्रविक्रम शाहले एक संयुक्त वक्तव्य प्रकाशन गर्नुभयो । त्यसको लगत्तै २६ चैत २००६मा कलकत्ताको टाइगर सिनेमा हलमा एकीकृत सम्मेलनकै झल्को दिने बृहत् भेला आयोजना गरियो । भेलामा उपस्थित भएका प्रतिनिधिहरूले आफ्नो राजनीतिक पार्टीमा रहेको, बीचमा रहेको शब्द ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ भन्ने शब्द हटाउन सहमत भए ।
विसं २०१५मा भएको आम निर्वाचनपछि छोटो समयका लागि बीपी कोइराला देशको कार्यकारी प्रमुख अर्थात् देशको प्रधानमन्त्री हुँदा गर्नुभएको केही अविस्मरणीय कामहरूलाई हामीले सम्झनुपर्नेजस्तो लाग्छ । जस्तै सबैभन्दा पहिले त्यो बेला सरकार प्रमुखको तलब २५ सय रहेकोमा आफू प्रधानमन्त्री हुनेबित्तिकै घटाएर १५ सय बनाए । त्यसैगरी मन्त्रीको तलब १५ सय रहेकोमा त्यसलाई घटाएर एक हजारमा झारे । त्यस्तै गरेर बीपी कोइरालाले देश विदेशमा समेत प्रभाव पर्ने काम बिर्ता उन्मूलन गर्नु, भूमि सुधार कार्यक्रम लागू गर्ने प्रयास गर्नु वनजंगल राष्ट्रीयकण गर्नु, नेपाली मुद्रा प्रचलनमा ल्याउनु, भारतीय रुपैयाँको स्थिर विनिमय दर (१०० भारुको १६०) तोक्नु, करको दर तोक्नु र सबैलाई करको दायरामा ल्याउने प्रयास गर्नु रहेको थियो । अहिले सम्झने हो भने, बीपी कोइरालाज्यूले त्यो बेलाको जमानामा सबैभन्दा क्रान्तिकारी र महत्वपूर्ण कदम चालेको चाहिँ सामन्तवादको अवशेषका रुपमा रहेको ससाना भुरे–टाकुरे राज्यका राजा अर्थात् राज्य–रजौटाहरूलाई उन्मूलन गरेकोलाई लिनुपर्नेजस्तो लाग्छ । जुन काम लरतरो आँटले गर्न सकिँदैन थियो ।
अहिलेका अधिकांश पहिलो पुस्ताका नेपाली कांग्रेसका नेताहरू बीपीको आदर्शअनुसार चलेको भए सायद जेन–जीको नाममा दुई दिनसम्म चलेको आन्दोलन जो थियो, दोस्रो दिनको अराजक भीड आन्दोलनका क्रममा शेरबहदुरलगायत बीपीका अन्य केही चेलाहरूले त्यसरी मार खानुपर्ने थिएन कि ? भन्ने अनुमान गर्न सकिन्छ । तर बीपीको आदर्शअनुसार चल्नुको सट्टा आफू–आफूले सामन्तवादको अवशेषका रुपमा रहेको ससाना भुरे–टाकुरे राज्य खडा नगरे पनि गुट र उपगुटहरू घडा गरे । त्यस्ता गुट र उपगुटहरू चलाउन र टिकाइराख्न करोडौँ, अरबौँ नेपाली रुपैयाँ र विदेशी मुद्रा (अमेरिकी डलर) जोगाड गर्न थाले । त्यस्तो रकम वैद्य कमाइबाट सम्भव थिएन । अतः अवैध कमाइ अर्थात् ठूला–ठूला आयोजनाबाट घुस, कमिसन, ठेक्का–पट्टटा, नियुक्ति आदिबाट कमाइ गर्नतिर ध्यान दिन थाले । अन्ततः महामानवका चेलाहरूको यो हरिबिजोग भयो ।