पर्वत । स्थानीयवासीले श्रमदान गरेर पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक मर्मत गरेका छन् । २०५८ सालमा उक्त मार्ग खोलिएको हो । त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो ।
मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दा स्थानीयवासीले कुनैपनि निकायबाट सहयोग नजुटेपछि श्रमदान गरेर सडक मर्मत गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमा माथिबाट झरेको पहिरोले सडक भत्काएको थियो । देउपुरका पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक बगाएको जानकारी दिए ।
पहिरोले क्षतिग्रस्त भएको सडकमा सवारीसाधन चलाउन सकिने अवस्था थिएन । वडा नं १, २ र ३ का करिब चार सय जनाले श्रमदान गरेका थिए । “गाउँलेले झण्डै चार लाख बराबरको श्रमदान गरेका छन्”, उनले भने ।
चाडवाडको बेला अहिले सडक मर्मत भएसँगै गाउँमा आउनेजाने यात्रुलाई सहज हुने भएको छ । मोदी गाउँपालिका–१, २ र ३ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएको थियो ।
यसअघि पहिरो नियन्त्रण गर्न भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत ३३ लाखको लगानीमा काम सुरु भएको थियो । तर काम नसकिँदै गत असारमा आएको पहिरोले सडक बगाएको थियो ।