काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहणको पहिलो दिनमै डिजिटल पहुँच विस्तारतर्फ महत्वपूर्ण कदम चालेका छन्। आजै मन्त्रालयमा पदभार ग्रहण गरेका उनले पहिलो निर्णयमार्फत पाँच महिनाभित्र काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। पदभार ग्रहणका क्रममा कर्मचारीहरूले ल्याएको प्रारम्भिक प्रस्तावमा उनले केही थप संशोधन गर्न लगाई, अन्ततः यो निर्णय कार्यान्वयनमा ल्याउने आदेश दिएका हुन्। यो निर्णयसँगै देशभरका प्रमुख शहरका सार्वजनिक स्थलहरूमा सर्वसाधारणले सहजै इन्टरनेट सेवा उपयोग गर्न पाउने अपेक्षा गरिएको छ। यसलाई सरकारको डिजिटल नेपाल अभियानतर्फको ठोस कदमका रूपमा लिइएको छ।