काठमाडौँ,काठमाडौँमा विभिन्न हातहतियार र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट ७ थान पेस्तोल, ६ थान म्याग्जिन, एसएलआरमा प्रयोग हुने ३३ राउन्ड गोली र राउन्ड सेटको ब्याट्री १ थान बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८, उदयपुर घर भई तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर रहेका छन्। आइतबार बेलुकी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले मगरको नाममा दर्ता भएको बा.प्र.०१००२ प ६४४९ नम्बरको ट्याक्सी खानतलासी गर्दा डिक्कीभित्र लुकाइ राखिएका हातहतियार फेला पारेको हो। प्रारम्भिक अनुसन्धानमा ती हतियारहरू जेनजी आन्दोलनका क्रममा प्रहरीबाटै लुटिएका भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।