नेपालमा जेन–जीहरुको विद्रोह अथवा भनौँ आन्दोलन किन भयो ? किन यो आन्दोलनको आवश्कता पर्यो । यी कुराको बारेमा समयले बताउने छ । तर नेपालमा जेन–जी आन्दोलन हुनुको लागि कसले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बाध्य बनायो, त्यो हामी सबैलाई जगजाहेर छ । सहनुको पनि सीमा हुन्छ, अति गर्नु अत्याचार नगर्नु भनिन्छ । जब सहनुको सीमा नाघ्छ त्यसपछि विद्रोह हुन्छ । नेपालको जेन–जी आन्दोलन त्यही विद्रोह हो । मुलुकको दिनदिनै खस्किँदै गएको अर्थव्यवस्था, चरमरुपमा व्याप्त भ्रष्टाचार, जुनसुकै क्षेत्रमा पनि भएको राजनीतिकरण र दलका नेताहरु स्वार्थलाभ, बिचौलिया आदिले देशको अवस्था कमजोर भएकै कारण नेपालमा भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन भएको हो ।
आजको आधुनिक युगमा हामी विज्ञान, प्रविधि र सामाजिक विकासको तीव्र गतिमा अगाडि बढिरहेका छौँ । तर, त्यसको विपरीत, लैंगिक असमानता, यौनिक पहिचानप्रति भेदभाव र सामाजिक अन्याय अझै नेपाली समाजमा गहिरो गरी जरा गाडेर बसेको छ । यिनै कुराहरूप्रति चेतना जगाउने र सबैलाई बराबरीको अधिकार दिलाउने उद्देश्यले नेपालमा जेन–जी आन्दोलन आवश्यक बन्यो ।
’जेन–जी’ भन्नाले सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्तालाई जनाइन्छ । यी युवा पुस्ता प्रविधिमैत्री, सामाजिकरूपमा सचेत र विश्वव्यापी सोच राख्ने हुन्छन् । नेपालमा पनि जेन–जी पुस्ताले लैंगिक समानता, यौनिक अधिकार, सामाजिक समावेशिता, मानसिक स्वास्थ्यजस्ता विषयमा खुलस्त बोल्न थालेका छन् । त्यसैले, यिनीहरूले सुरु गरेको चेतनामूलक अभियानलाई जेन–जी आन्दोलन भनिन्छ ।
नेपाल समाज परम्परागत संरचनामा आधारित देश हो, जहाँ धर्म, जात, लिंग, वर्ग, र संस्कृतिजस्ता विषयहरूले मानिसको जीवनशैली निर्धारण गर्दै आएका छन् । तर, यिनै संरचनाहरूले कहिलेकाहीँ मानिसको स्वतन्त्रता, पहिचान र अवसरमा अवरोध पनि पुर्याएका छन् । नयाँ पुस्ता, विशेषतः भनिने पुस्ताले यस्ता अवरोधहरूसँग प्रश्न उठाउन थालेका छन् । यो पुस्ता प्रविधिसँगै हुर्किएको, वैश्विक मूल्यसँग परिचित र सामाजिक न्यायप्रति संवेदनशील छ । उनीहरूले सुरु गरेको ‘जेन–जी आन्दोलन‘ नेपालमा मात्र होइन, विश्वभर सामाजिक रूपान्तरणको लहर बनेको छ । नेपालको समाज पितृसत्तात्मक प्रणालीमा आधारित छ । पुरुषलाई प्रमुख र महिलालाई दोस्रो दर्जाको मानिने सोच अझै प्रचलित छ । बालबालिका, महिला, दलित, जनजाति, यौनिक तथा लैंगिक अल्पसंख्यकहरू समाजमा लामो समयदेखि विभेद र बहिष्करणको शिकार बनिरहेका छन् ।
जेन–जी आन्दोलनले यस्ता असमान संरचनासँग सोधपुछ गर्न थालेको छ । यसअन्तर्गत किन महिलालाई समान अवसर दिइँदैन ? किन तेस्रो लिंगीलाई नागरिकता, शिक्षा वा रोजगारमा भेदभाव गरिन्छ ? किन मानसिक स्वास्थ्यको कुरा गर्दा अझै लाज मानिन्छ ? यी प्रश्नहरू उठाउने र उत्तर खोज्ने प्रयास नै जेन–जी आन्दोलनको मूल आत्मा हो । आजको युवापुस्ता इन्टरनेट, सामाजिक सञ्जाल, र डिजिटल मिडियामार्फत विश्वभरका मुद्दाहरूमा सजिलै पहुँच राख्छन् । यसले गर्दा उनीहरू परम्परागत सोचभन्दा फरक धारमा सोच्न थाल्छन् र ‘सवाल गर्न‘ सिक्छन् । नेपाली शिक्षाले दिने पठनपाठनभन्दा बाहिरका प्रश्नहरू उनीहरूले उठाउने गर्छन्, र उत्तर खोज्न सामूहिकरूपमा संगठित हुन थालेका छन्– जुन नै आन्दोलनमा परिणत भएको हो । जेन–जी आन्दोलनले ‘हामी को हौं?‘ भन्ने प्रश्न उठाउँदै आफ्नो पहिचान स्वीकार गराउन संघर्ष गरिरहेको छ । जेन–जी पुस्ता मानसिक स्वास्थ्यलाई धेरै महत्व दिन्छ । उनीहरू डिप्रेसन, एन्जाइटी, ट्रामा, बर्नआउटजस्ता समस्यालाई ’कमजोरी’ नभई ’स्वास्थ्य समस्या’ मान्छन् । नेपालमा अझै धेरै मानिस मानसिक रोग भए लुकाउने गर्छन्, तर जेन–जीले यो कलंक तोड्न खोजिरहेको छ । त्यसैले स्कुल, कलेज र सामाजिक मञ्चहरूमा साइकोलोजिकल सेफ स्पेसको माग बढ्दो छ ।
नेपालमा महिलाहरू, तेस्रोलिंगी समुदाय र अन्य लैंगिक अल्पसंख्यकहरू अझै पनि शिक्षा, रोजगारी, राजनीति र समाजमा पछाडि पारिएका छन् । बालविवाह, छाउपडी, घरेलु हिंसाजस्ता समस्याहरूले महिलालाई अझै पनि सशक्त हुनबाट रोकिरहेका छन् । युवा पुस्तामा मानसिक स्वास्थ्यको समस्या दिन प्रतिदिन बढ्दो छ । तर, अझै धेरै मानिसहरूले यसलाई ’कमजोरी’को रूपमा हेर्छन् । जेन–जी आन्दोलनले यस विषयमा खुला संवाद गराउँदै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा ल्याउन सहयोग पुर्याउँछ । विद्यालयदेखि नै सबै प्रकारका पहिचान र व्यक्तित्वलाई स्वीकार गर्ने शिक्षा दिनुपर्ने आवश्यकता छ । जेन–जी आन्दोलनले यस्तो शिक्षाको माग गर्छ, जसले सबैलाई समान र आत्मसम्मानका साथ बाँच्न प्रेरणा देओस् । नेपालमा जेन–जी आन्दोलनले युवाहरूलाई सामाजिक सञ्जाल, कविता, कला, भिडियो र बहसमार्फत आफ्ना विचार खुलस्त राख्ने प्लेटफर्म दिएको छ । यो आन्दोलनबाट युवाहरू नारीवादी विचार, यौनिकता, सामाजिक न्याय र समावेशिताको पक्षमा आवाज उठाइरहेका छन् । धेरैले यसलाई एक प्रकारको ‘सामाजिक रूपान्तरणको आन्दोलन‘ पनि भनिरहेका छन् ।
नेपालजस्तो बहुसांस्कृतिक र परम्परामा आधारित समाजमा सामाजिक सोच परिवर्तन गर्न समय लाग्न सक्छ । तर, जेन–जी आन्दोलनजस्ता अभियानहरूले युवाहरूलाई नेतृत्वमा ल्याएर सामाजिक रूपान्तरणको ढोका खोल्ने काम गरिरहेका छन् । सबैले आफ्ना पहिचान र जीवनशैलीमा स्वतन्त्रता पाउनु, आत्मसम्मानका साथ बाँच्न पाउनु– यही हो जेन–जी आन्दोलनको सार । त्यसैले, यस्तो आन्दोलन आजको नेपालमा मात्र होइन, भविष्यका पुस्ताका लागि पनि अत्यन्त आवश्यक छ । नेपालमा जेन–जी आन्दोलन केवल एक पुस्ताको विद्रोह होइन, यो समाज रूपान्तरणको संकेत हो । जबसम्म प्रत्येक व्यक्तिले आफ्नो पहिचानको सम्मान, अभिव्यक्तिको स्वतन्त्रता र समान अवसर पाउँदैनन्, तबसम्म यस्तो आन्दोलन आवश्यक नै रहन्छ ।