काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सबैभन्दा बढी भौतिक सम्पत्तिको क्षति बागमती प्रदेशमा भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही असोज ५ गतेसम्म परेको मागदाबीको आधारमा बागमती प्रदेशमा मात्र कुल एक हजार तीन सय ४३ वटा दाबी संख्याको आधारमा १७ अर्ब ९७ करोड ७२ लाख १६ हजार रुपैयाँ बराबरको मागदाबी परेको छ । यस अवधिमा देशभर कुल २४ सय ७८ वटा दाबी संख्याको आधारमा कुल २२ अर्ब २५ करोड ६५ लाख छ हजार रुपैयाँ बराबरको बीमा दाबी रकम पेश भएको छ ।
प्राधिकरणका अनुसार कोशी र मधेश प्रदेशमा भने क्रमशः तीन सय २२ र दुई सय ४५ वटा दाबी संख्याको आधारमा क्रमशः एक अर्ब ६५ करोड तीन लाख १० हजार र ५५ करोड २८ लाख ६१ हजार रुपैयाँ बराबरको बीमा दाबी रकम परेको छ । यसैगरी गण्डकी र लुम्बिनीमा पनि क्रमशः एक सय ८४ र दुई सय दुई वटा दाबी संख्याको आधारमा क्रमशः एक अर्ब २९ करोड एक लाख ५२ हजार र ४५ करोड ६९ लाख ५६ हजार रुपैयाँ बराबरको दाबी रकम परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने क्रमशः २२ र एक सय ५९ वटा दाबी संख्याको आधारमा क्रमशः आठ करोड ९३ लाख ३० हजार र २३ करोड ९६ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी रकम परेको छ ।