अफ्रिका । अफ्रिकी संघ (एयू), युरोपेली संघ र संयुक्त राष्ट्रका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार संयुक्त राष्ट्र मुख्यालयमा भेला भएर आजका विश्वव्यापी चुनौतीहरू सामना गर्न बहुपक्षीय साझेदारीलाई सबैभन्दा प्रभावकारी उपायको रूपमा पुनः पुष्टि गरेका छन् । बैठकमा एयू आयोगका अध्यक्ष महमूद अली युसुफ, युरोपेली परिषद्का अध्यक्ष अन्तोनियो कोस्ता, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयन र संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेससहित ती तीन संगठनका वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
तीन संगठनहरूले जारी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुन, मानवीय कानुन र मानव अधिकारको सम्मानमा देखिएको कमीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र सन्धिको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिएका छन् । बैठकमा विशेषगरी सुडानमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने विषयमा सम्वेदनशीलता र गम्भीरताका साथ छलफल भएको थियो । साथै, आतंकवादी सशस्त्र समूहहरूको विरुद्ध संघर्षलाई अझ सुदृढ पार्ने, सहिष्णुता प्रवद्र्धन गर्ने र विकासका लागि आवश्यक पहलहरू गर्ने विषयमा विचारविमर्श गरिएको थियो । तीनै संगठनहरूले लिबियामा राजनीतिक प्रक्रिया पुनः जीवित गर्न संयुक्त राष्ट्रको रोडम्यापलाई पुरा समर्थन जनाएको छ ।
पूर्वी कङ्गो लोकतान्त्रिक गणराज्यका शान्ति पहलहरू, सोमालियामा अफ्रिकी संघको समर्थन तथा स्थिरीकरण मिसनलाई साथ दिने विषयमा पनि सकारात्मक छलफल भएको थियो । त्यस्तै, अफ्रिका र विश्वका अन्य भागहरूमा शान्ति अभियानहरूको पुनरावलोकन गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
तीन संगठनहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअनुसार अफ्रिकी संघ नेतृत्वमा शान्ति समर्थन कार्यका लागि वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गर्न आग्रह गरेका छन् । अफ्रिकामा दिगो शान्ति र विकासको लागि संयुक्त प्रतिबद्धता पनि पुनः व्यक्त गरिएको छ । साथै, विकासका लागि वित्तीय स्रोत जुटाउन, लगानी प्रवद्र्धन गर्न र विकासशील देशहरूका ऋण समस्या समाधान गर्न सिविल्ला प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा सबैको सहमति थियो । रासस/सिन्ह्वा