ललितपुर,ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार ललितपुरको सानेपाबाट पक्राउ गरी नख्खु कारागार बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका शर्मा यसअघि पनि फरार भएका थिए। उनलाई १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। शर्माविरुद्ध सहकारी ठगीका साथै २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) मुद्दा समेत दायर गरिएको प्रहरीले जनाएको छ।