काठमाडौँ । ग्लोबल आईएमई बैंकको संयुक्त अरब इमिरेटस (युएई) मा रहेको शाखामा बैंककै कर्मचारीले खातावालको खाताबाट रकम चोर्ने गरेको थाहा भएको छ । यही असोज ७ गते बैंकको खातावालले ग्लोवल आईएमई बैंकमा उजुरी गरेपछि त्यसको खुलासा भएको हो ।
युएईमा रहेको बैंकको शाखामा कार्यरत अर्जुन चापागाईँले ग्राहकको खाताबाट रकम चोरेर आफन्तको खातामा ट्रान्सफर गर्ने गरेका हुन् । गोरखाका कैलाश रोक्काको खातामा जम्मा गरेको रकम हराएपछि त्यसको सोधीखोजी गर्दा बैंकका कर्मचारी चपागाईंले रकम चोरेर आफ्ना आफन्तको खातामा ट्रान्सफर गर्ने गरेको पत्ता लागेको हो ।
ग्राहकले आफ्नो खाताबाट रकम हराएपछि सोधीखोजी गर्न थालेपछि चापागाईं भागेर काठमाडौं आएको थाहा भएको छ । खातावालाको उजुरी माथि छानबिन गर्दा चापागाईँले त्यसरी रकम चोर्ने गरेको यकिन भएको बुझिएको छ । यसअघि एनआईसी एसिया बैंकको खुमलटार शाखाबाट शाखा प्रमुख अविनाश कर्णयले यसैगरी लाखौँ रुपैयाँ चोरर आफन्तको खातामा ट्रान्सफर गरेर बीसपान गरी आत्महत्याको असफल प्रयास गरेका थिए भने त्यसअघि ग्राण्ड बैंकका भास्कर खत्रीले खातावालाको खातामा जम्मा गर्नुपर्ने रकम चोरी आफैँले लगेका थिए ।
प्रविधिको जतिसुकै विकास भए पनि चोरले त्यसलाई पनि दुरुपयोग गरेर चोर्न छाड्दो रहेनछ भन्ने पछिल्लो उदाहरण ग्लोबल आईएमईं बैंकको युएई शाखामा कार्यरत चापागाईँले खातावालाको खाताबाट रकम चोरेको घटनाबाट स्पष्ट भएको छ । एनआईसी एसिया बैंकको खुमलटार शाखाबाट खातावालाको खाताबाट रकम चोरिएपछि बैंकले क–कसको खाताबाट रकम हराएको छ भनी निवेदन लिएर छानबिन गरेको थियो तर ग्लोबल आईएमई बैंकले अहिलेसम्म त्यस्तो केही गरेको छैन । यस बारेमा कुरा गर्न मोबाइलमा सम्पर्क गर्न खोज्दा चापागाईंले फोन उठाएनन् ।