जेन–जीको आन्दोलनपछि नेपाल गम्भीर, नाजुक तथा अकल्पनीय मोडमा पुगेको छ । नेपालको इतिहासमा भदौ २३ र २४ गते दुई दिनकै आन्दोलनमा शक्तिशाली सरकार ढल्न पुग्यो, नयाँ सरकार गठन भयो, संघीय संसद् भङ्ग भयो ।
देशमा सुशासन र भ्रष्टाचरविरुद्धको मुख्य माग राखेर शान्तिपूर्ण आन्दोलन गर्न चालिएको जेन–जी समूहको सो आन्दोलनमा विभिन्न स्वार्थ समूहहरूको घुसपैठले गर्दा नयाँ बानेश्वर संसदीय भवनवरपर डरलाग्दो रणभूमिमा परिणत हुन पुग्यो । दुई घण्टामै सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर २१ जना विनाकसुर किशोरकिशोरीहरूले ठहरै ज्यान गुमाउन प¥यो । हाल सो संख्या बढेर ७० भन्दा माथि पुगेको छ।
भदौ २४ गते घुसपैठ समूहहरूले नियोजितरूपमा देश भर अराजक गतिविधि, भौतिक आक्रमणका गतविधि सञ्चालन हुन थाल्यो जसले गर्दा राष्ट्रिय सम्पत्ति, गौरव एवं ऐतिहासिक महत्व बोकेका सम्पत्तिहरू संरचनाहरू आगजनी भएको, तोडफोड गरेको, दस्ताबेज नष्ट गरेको, लुटपाट गरेको देखियो । कयौँ निजी सम्पत्तिमा समेत आक्रमण गरी तोडफोडका साथै आगजनी गरेका थिए जसमा प्रजातन्त्रवादी अगुवा शीर्ष नेताहरू कोइराला निवास, गणेशमान सिंहको चक्सिबारी घर, किसुनजीको तथा कम्युनिस्ट नेता पुष्पलालका आश्रम समेत आगजनी गरेर ध्वस्त पारियो ।
निजी क्षेत्रबाट सञ्चालित उद्योग, व्यवसाय जसले हजारौँ जनतालाई रोजगार दिँदै आएका समेतमा आगजनी, लुटपाट गरेको मात्र नभई भूपू प्रधानमन्त्री र उहाँका दम्पतीलाई लछारपछार गरी अमानवीय सांघातिक हमला गरेको समेत दुःखद घटना घट्न पुग्यो । खर्बौँको क्षति भएको अनुमान गर्न सकिन्छ जुन सायद पहिले कहिले भएको थियो अथवा अब हुन्छ नै होला । यी कथित घुसपैठ समूह कताबाट सञ्चालित हालसम्म प्रस्ट भएको छैन ।
दुई ठूला दल सम्मिलित सरकार निरिह भएको र सो आन्दोलन व्यवस्थापन गर्न असफल भएकोले आन्दोलनको दुई दिनमै सरकारले राजीनामा दिन बाध्य हुन पुग्यो ।
राष्ट्रपति कार्यालय, नेपाली सेना, जेन–जीका प्रतिनिधिहरूको सहभागिता नयाँ प्रधानमन्त्री नियुक्त भई काम चलाउ सरकार गठन भएको छ । फागुन २१ गते चुनाव गर्ने र जेन–जीका भ्रष्टाचारविरुद्धका मागहरूलाई समेत सम्बोधन गर्ने यस नवगठित कामचलाउ सरकारले जनादेश पाएको छ । यो सरकार विभिन्न चुनौती सामना गर्दै कसरी अगाडि बढ्ने हो, हेर्न बाँकी नै छ । सरकारले दिइएको जनादेशमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।
यो विषम परिस्थितिमा देशका खासगरी पुराना ठूला दलहरू आफैँमा कसरी व्यवस्थापन गर्ने, नयाँ परिस्थितिलाई कसरी सम्बोधन गर्ने ठूलो चुनौती खडा भएको छ । ठूला दलका शीर्ष नेताहरूको कमीकमजोरी, हेपाहा प्रवृत्तिका कारण नै यी अकल्पनीय घटना घट्न पुगेकै हो । शक्तिको प्रयोग गरी, उन्मादको स्थितिमा आसिन शीर्ष नेताहरू र तिनका आसेपासेहरू आफ्नो असफलता स्वीकार गर्न नचाहेको देखिन्छ । प्रतिशोध, बदला लिने सोचमा होलान् सायद । ‘आफ्नो गोरुको बाह्रै टक्का’ भनेझैँ सत्ता लोप्सामा अडिग भएर बस्ने दाउमा होलान् । यस्ले नोक्सानीबाहेक राम्रो हुनेवाला देखिँदैन ।
हुन त माओवादी अध्यक्षले विशेष महाधिवेशन गर्ने निर्णय गरेको अवस्था छ । नेकपा एमाले, जसको हालै मात्र महाधिवेशन सम्पन्न भएकोले अब के हुने हो स्पष्ट भईनसकेको अवस्था छ।
अर्का ठूलो दल नेपाली कांग्रेस, जसले देश बचाउन अगुवाइ गर्नुपर्ने, दुई मतमा विभाजित भई नै सकेको अवस्था छ । संस्थापन समूह यथास्थितिमा जानेमा अडिग देखिन्छ । नयाँ सरकारको गठन र संसद् विघटनलाई संविधानसंगत नभएको मुद्दा उठाउने मनस्थितिमा देखिन्छ । नेपाली कांग्रेसकै दुई युवा नेता, महामन्त्रीहरूले दलको पुनर्गठनको माग उठाएको छ र नवगठित सरकारलाई सहयोग गरी जेन–जीले उठाएका मागहरूलाई समेटेर आगामी निर्वाचनमा सहभागी हुन र दलबाट अनुमोदन गर्न विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान सुरु गरिसकेको छ ।
को ठीक को बेठीक भविष्यले देखाउने नै छ । तर संस्थापन र इतर पक्ष मिल्न नसकेको अवस्थामा नेपाली कांग्रेस विभाजित हुने पक्का छ । यसको नतिजा आउँदो निर्वाचनमा के हुने हो यसै भन्न सक्ने अवस्था हुँदैन । यो अति संवेदनशील अवस्थामा नेता–कार्यकर्ताहरूले आवेगमा नआई ‘भाइ फुटे गवार लुटे’ भन्ने स्मरण गर्नुपर्ने अवस्था आएको छ । यो जेन–जीलाई आफूमा आकर्षित गर्ने ठूलो अवसर हुनसक्छ ।
हाल जनता कमजोर, सरकार कमजोर, दलहरू कमजोर र जेन–जी कमजोर मात्र नभएर अगुवाविहीनको अवस्थामा कमजोरीकै फाइदा उठाउन देश–विदेशका अराजक समूह देशका विभिन्न क्षेत्रमा घुसपैठ, अपहरण गर्न सक्ने स्थितिबाट बच्न र चुनौती सामना गर्न मेलमिलापको विकल्प हुनै सक्दैन । समय कम छ ।
साँच्चै भन्ने हो भने आज इतिहास बोकेको र देश विकासको महत्वपूर्ण भूमिका खेल्न पर्ने नेपाली कांग्रेस चौबाटोमा ठिङ्ग उभिएको देखिन्छ ।