काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा शुक्रबार ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/०८२को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको सात प्रतिशतका दरले हुन आउने लाभांश करसहित एक करोड ४७ लाख रुपैयाँँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।