काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले शुक्रबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् । यसअघि, शुक्रबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो । अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालयअन्तर्गत कार्यरत रहेका छन् । प्राधिकरणमा कार्यभार सम्हाल्दै प्राधिकरणका अध्यक्ष शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताए ।
अध्यक्ष शर्माले भने, ‘हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रमअनुसार समग्र बीमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बीमा कम्पनीहरू प्रचलित कानुनबमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।’
अध्यक्ष शर्माले भने, ‘बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमै दाबी भुक्तानी दिनुपर्छ, यसो भएमा बीमाप्रतिको विश्वास बढ्छ र बीमाको दायरा बढ्दै जान्छ, बीमाको दायरा बढ्दै गएपछि लागत पनि कम हुँदै जान्छ ।’ अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई निर्देशन दिए । अध्यक्ष शर्मा प्राधिकरणमा आउँदा प्राधिकरणका निर्देशकहरूलगायत कर्मचारीहरूले स्वागत गरेका थिए ।