काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा हानेको छ । देउवापत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ राणाको जाउलाखेलमा रहेको घरमा सीआईबीको टोली पुगेको हो ।
स्रोतका अनुसार विभिन्न खरिद र नियुक्तिमा जोडिने गरेका राणाको घरमा सीआईबी पुग्नुलाई अर्थपूर्ण मानिएको छ । गत भदौ २४ गते देउवा दम्पतीको बूढानीलकण्ठमा रहेको घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका थिए भने त्यसपछिका मिडिया रिपोर्टहरुमा नगदै पैसा जलेको फेला परेको थियो ।
अहिले सरकारले पूर्ववर्ती सरकार, प्रशासकलगायतलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ । जेनजी प्रदर्शन भ्रष्टाचारको विरोधमा चर्किएको थियो भने छ दर्जन हाराहारीमा युवाको ज्यान गएको थियो । आइतबार नै अर्थ मन्त्रालयले जलेका, स्रोत नखुलाइएका पैसाबारे अनुसन्धान भइरहेको जनाएको थियो ।