काठमाडौं । सरकारले विराटनगर भन्सार कार्यालयबाट बहुप्रतिक्षित मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परीक्षण गरेको छ । प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गरी विश्व व्यापार संगठनअन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मूल्याङ्कन विधि नेपालमा पहिलोपटक सुरु भएको हो ।
गत असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेको उक्त प्रणालीले हरेक छ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो, जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्छ । व्यवसायीहरुले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मूल्याङ्कन डाटाबेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रिया हो ।
नेपाल उद्योग वाणिज्य महासंघले ग्याट भ्यालुएसनअनुसार अनलाइन मूल्याङ्कन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएको थियो । मूल्य निर्धारण डब्लुटीओ÷ग्याट भ्यालुएसन आर्टिकलमा उल्लेखित विधिहरुको पूर्णपालना गरी सो अनुरुप कारोबार मूल्य निर्धारण गरिनुपर्ने माग महासंघको छ । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल पाइलटका रुपमा विराटनगरबाट सुरु भएको मूल्याङ्कन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरे । साथै, सबै भन्सार विन्दुमा उक्त सेवा सुरु गर्न सरकारसँग पनि आग्रह गरेका छन् । अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्यूनविजकीकरण र अधिक विजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।